प्रदेशमा कूटनीति हेर्न अधिकृत खटाइने

काठमाडौं, १ फागुन – परराष्ट्र मन्त्रालयले सातै प्रदेशमा आफ्नो उपस्थिति गराउने भएको छ । परराष्ट्रले पाकिस्तानमा जस्तै हरेक प्रदेशमा प्रोटोकल अधिकृत (शाखा अधिकृत) खटाउने तयारी गरेको छ ।

सुरुमा सहसचिव र उपसचिव खटाउने विषय उठे पनि शाखा अधिकृत पठाउने तयारी गरिएको मन्त्रालय उच्च स्रोतले बतायो । छिमेकी भारतमा प्रदेश (राज्य सरकार) मा परराष्ट्र मन्त्रालयको उपस्थिति छैन । कन्सुलेट कार्यालय भएको प्रदेशमा मात्र लियाजन अधिकृतहरू खटाइएका छन् । कूटनीतिक विषय केन्द्रबाटै हेर्ने गरिन्छ । हरेक राज्यलाई संयोजन गर्ने डेक्स मन्त्रालयमा राखिएको हुन्छ ।

नेपालको संविधानअनुसार प्रदेश सरकारले सीधै कूटनीतिक वार्तामा आफ्नो उपस्थिति जनाउन पाउँदैन । केन्द्रको स्वीकृति आवश्यक पर्छ । प्रदेशमा कूटनीतिक सेवाका कर्मचारी आवश्यक छ/छैन लामो बहसपछि परराष्ट्रले अधिकृत पठाउने अवधारणा अघि बढाएको हो ।

आरम्भमा केही तयारी गर्न पठाउने र त्यसपछि सुधारको पहल गर्ने गरी मन्त्रालय प्रशासनले गृहकार्य गरिरहेको छ । आजको कान्तिपुरमा खबर छ ।

Top