केन्याविरुद्ध अन्तिम बलमा नेपालको सनसनी जित

काठमाडौं, १ फागुन – आठौँ क्रमका ब्याट्सम्यान सोमपाल कामीले इनिङकै अन्तिम बलमा १ रन लिँदै सोमबार नेपाललाई केन्याविरुद्ध ३ विकेटको सनसनीपूर्ण जित दिलाएका छन् ।

नामिबियामा सञ्चालन भइरहेको आइसिसी विश्व डिभिजन–२ क्रिकेट प्रतियोगितामा नेपालले महत्वपूर्ण चौथो खेलमा केन्याको सामना गरेको थियो । केन्याले पहिलो ब्याटिङ गर्दै ५० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो । प्रत्युत्तरमा नेपालले ५० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७८ रन जोड्यो ।

शीर्ष दुईको सम्भावना

चारमध्ये तीन खेल जितेर ६ अंक बटुलेको नेपालले शीर्ष दुई स्थानको सम्भावना यथावत् राखेको छ । नामिबियासँग १७ रनले हारेको क्यानडाले चार खेलबाट ६ अंक जोडेको छ । रनरेटमा क्यानडा शीर्ष र नेपाल दोस्रो स्थानमा छन् ।

नामिबियाले तीन खेलबाट ४ अंक जोड्दै शीर्ष दुईमा पुग्ने आशा बलियो बनाएको छ । ओमानलाई हराएको युएईले चार खेलबाट ४ अंक जोडेको छ । ओमानले २ अंक जोडेको छ भने केन्याले अहिलेसम्म अंक जोड्न सकेको छैन ।

क्यानडाको हारसँगै समीकरण रोमाञ्चक बनेको छ । समीकरणअनुसार क्यानडा, नेपाल, युएई र नामिबियामध्ये दुई टोली शीर्ष दुईमा रहने प्रबल सम्भावना छ । अाजकाे नयाँ पत्रिकामा खबर छ ।

Top