ओलीले जनयुद्ध स्विकार गर्नुभयोः दाहाल

काठमाण्डौ, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी ओलीले जनयुद्ध स्विकार गरेको दावी गर्नु भएको छ । अध्यक्ष दाहालले जनयुद्ध दिवसकै अवसर पारेर एमालेसँगको पार्टी एकतालाई निष्कर्षमा पु¥याउने प्रयास भईरहेको पनि स्पष्ट पार्नु भयो ।

२३ औं जनयुद्धको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले माओवादी जनयुद्धले मुलुकको सामाजिक तथा राजनीतिक जागरणमा महत्वपूर्ण योगदान दिएको सच्याईलाई एमाले अध्यक्ष ओलीले स्विकार गर्नु भएको खुलासा गर्नु भयो ।

उहाँले सिंगैं मुलुकलाई एकतावद्ध गरेर शक्तिशाली कम्युनिष्ट केन्द्र स्थापना गर्ने अभियानमा आउन मोहन बैद्य, नेत्रविक्रम चन्दलगायतका कम्युनिष्ट क्रान्तिकारीहरुलाई आह्वान पनि गर्नु भयो । अध्यक्ष दाहालले क्रान्तिलाई बैद्य तथा चन्दहरुले रहर र लहडको विषय बनाएको उल्लेख गर्दै त्यसले गम्भिर दूर्घटना निम्त्याउने चेतावनी दिनु भयो ।

अध्यक्ष दाहालले जनयुद्ध र जनआन्दोलनकै बलमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको र अव समाजवाद निर्माण गर्ने अभियान सूरु गर्न एमालेसँग पार्टी एकीकरण गर्न लागिएको पनि स्पष्ट पार्नु भयो । उहाँले जनयुद्धको नेतृत्व गर्दा आफूले ठूल्ठूला साहसिक निर्णय लिएको स्मरण गराउनु भयो ।

Top