आठ वर्षदेखि चिस्यान केन्द्र बन्द

सिरहा, १ फागुन -सिरहाको उत्तरवर्ती क्षेत्र धनगढीमाई १२ स्थित बगरटोल क्षेत्रका भैँसीपालक किसानलाई लक्षित गरी खोलिएको दूध चिस्यान केन्द्र आठ वर्षदेखि बन्द छ । केन्द्र बन्द रहँदा किसान मारमा परेका छन् ।

गरिबी निवारण कोषको १८ लाख रुपियाँ आर्थिक सहयोगमा २०६५ मङ्सिरमा कृषि तथा वन प्रविधि केन्द्र (क्राफ्ट) नेपालले कृषकहरूलाई समूहमा आबद्ध गरी केन्द्र सञ्चालनमा ल्याएको थियो । सगरमाथा दूध चिस्यान केन्द्रको नामले स्थापना भएको उक्त चिस्यान केन्द्र लामो समयदेखि बन्द हँुदा चिस्यान मेसिनमा खिया लाग्न थालेको छ ।

एक हजार लिटर क्षमताको चिस्यान केन्द्रमा त्यस वरपरका ११० भैँसीपालक कृषकले दूध सङ्कलन गर्दै आएका थिए । केन्द्रका अध्यक्ष झोकीलाल शास्त्रीका अनुसार, चिस्यान केन्द्रकै कारण व्यावसायिक भैँसीपालनमा हौसिएका विष्णुपुरकट्टी र बगरटोल वरपरका कृषकले दैनिक पाँच सय लिटर दूध केन्द्रमा सङ्कलन गर्दै आएका थिए । जसबाट उत्तरी भेगका कृषकले राम्रो आम्दानी आर्जन गर्न सफल भएका थिए । आजको गोरखापत्रमा खबर छ ।

Top