प्रदेशसभा संचालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने तयारी

काठमाडौं ९ माघ । संसद सचिवालयले सात वटै प्रदेशसभा संचालनका लागि आवश्यक जनशक्तिको व्यवस्थापन गर्ने भएको छ ।

संसद सचिवालयले प्रदेश सभा संचालन गर्ने कार्यविधिबारे प्रशिक्षण दिन सबै प्रदेशमा सहसचिवको नेतृत्वमा ४ जनाको दरले कार्यटोली पठाउने तयारी गरेको हो । एक हप्ता भित्र सबै प्रदेशमापुग्ने गरी आवश्यक जनशक्ति पठाउन लागिएको संसद सचिवालयका प्रवक्ता डा. भरतराज गौतमले जानकारी दिनु भयो ।

सरकारले प्रत्येक प्रदेशसभामा तत्कालका लागि २७ जना कर्मचारीको व्यवस्था गरेको छ । सोही कर्मचारीहरुलाई प्रदेश सभा संचालनका बारेमा आवश्यक जानकारी दिन संसद सचिवालयले सहसचिव नेतृत्वको ४ सदस्यीय टोली सबै प्रदेशसभाहरुमा व्यवस्था गर्न लागेको प्रवक्ता गौतमले बताउनु भयो ।

प्रतिनिधि सभा बैठक कक्षको तयारीको काम पूरा गरिएको र राष्ट्रिय सभा बैठक कक्षको तयारीको कामपनि अन्तिम चरणको पुगेको संसद सचिवालयले जनाएको छ । संसद सचिवालयले प्रदेशसभाको आन्तरिक सुरक्षाका लागि पनि संघीय संसदमा जस्तै मर्यादापालकको व्यवस्था हुने पनि स्पष्ट पारेको छ ।

Top