दलहरु राष्ट्रियसभाका उम्मेदवार छान्न व्यस्त

काठमाडौं, ९ माघ – राष्ट्रियसभा चुनावको उम्मेदवार चयन गर्न प्रमुख राजनीतिक दलहरु आन्तरिक छलफलमा व्यस्त भएका छन् । राष्ट्रियसभा चुनावको लागि भोलि मनोनयन दर्ताको समय रहेकाले दलहरु आज बिहानैदेखि आन्तरिक छलफलमा व्यस्त भएका हुन् ।

एमालेले प्रदेश नम्बर ५, ६ र ७, तथा नेपाली कांग्रेसले प्रदेश नम्बर ७ का उम्मेदवारको नाम नाम तय गरिसकेका छन् भने माओवादी केन्द्र, राजपा र संघीय समाजवादी फोरम पनि कसरतमा छन् । उम्मेदवार अन्तिम टुंगो लगाउन यी दलको छुट्टा–छुट्टै बैठक आज बसिरहेका छन् ।

नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा स्थायी कमिटी बैठक बोलाएको छ । प्रदेश ५, ६ र ७ का उम्मेदवार टुंगो लगाइसकेको एमालेले मंगलबार थप प्रदेशका उम्मेदवार चयन गर्नेछ ।

यसैगरी नेपाली कांग्रेसका शीर्ष नेताहरु पनि बिहानैदेखि आन्तरिक छलफलमा जुटेका छन् । प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले बालुवाटारस्थित निवासमा शीर्ष नेताहरुसँग छलफल थालेका छन् ।

छलफलले राष्ट्रियसभा सदस्य निर्वाचनका उम्मेदवारको टुंगो लगाउने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । साथै बैठकमा मधेशवादी दलसँग तालमेल गर्दा कसले कति सिट पाउने भन्ने विषयमा पनि छलफल हुनेछ ।

नेकपा माओवादीका शीर्ष तीन नेताहरु पनि आन्तरिक छलफलमा छन् । छलफलका लागि नेताहरु नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा पुगेका छन् । माओवादी केन्द्रले उम्मेदवार चयन गर्ने जिम्मा यीनै तीन नेताहरुलाई दिएको छ । राष्ट्रियसभा सदस्यका आकांक्षी धेरै भएपछि माओवादीले उम्मेदवार छान्न सकिरहेको छैन ।

यस्तै, संघीय समाजवादी फोरम र राजपाका शीर्ष नेताहरु पनि राष्ट्रिय सभा चुनावका उम्मेदवार चयन गर्ने तथा आपसमा तालमेल गर्ने विषयमा छलफलका लागि व्यस्त छन् । सरकारले माघ २४ गते राष्ट्रियसभा चुनावको मिति निर्धारण गरेको छ ।

Top