धनकुटा तनावग्रस्त बनेपछि अनिश्चितकालिन कर्फ्यू

विदुर खवास ।
काठमाडौं, ४ माघ – सरकारले प्रदेश १ को अस्थायी राजधानी विराटनगरलाई बनाएसँगै धनकुटा तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रकाश उप्रेतीका अनुसार बिहान साढे ११ बजेदेखि नै लागु हुने गरी कर्फ्यू आदेश जारी गरिएको हो । कर्फ्यूपूर्वमा बिहीबारे हाट, पश्चिममा घुमाउने चौतारा, उत्तरमा देब्रेवास, लोकसेवा आयोगको कार्यालयसम्म, दक्षीणमा पातले खोलासम्म लगाइएको छ ।

कर्फ्यू लगाइएको बारे सूचना दिन अहिले ठाउँ ठाउँमा सुरक्षाकर्मीले माइकिङ गरिरहेकाछन् । यस्तै यहाँको सुरक्षा व्यवस्था कायम गर्न सुनसरीबाट सुरक्षाकर्मीको थप बल समेत बोलाइएको छ । केही सातादेखि प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटावासीले आज विभिन्न सरकारी कार्यलयमा तोडफोड गर्नुका साथै क्षेत्रीय प्रशासको कार्यालयमा आगजनी गरेका थिए ।

प्रदर्शनकारी र प्रहरीबीच धनकुटाका मुख्य चोकहरुमा झडप र ढुंगा हानाहान भएको थियो । हाम्रा सहकर्मीका अनुसार प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले क्षेत्रीय कार्यालयमा, डिभिजन कार्यालय लगायतका सरकारी कार्यलयमा आगजनी गरेका थिए ।

प्रदर्शनमा उत्रिएका स्थानीयले नगरपालिकाको वारुणयन्त्रमा पनि तोडफोड गर्नुका साथै एम्बुलेन्समा पनि तोडफोड गरेका थिए । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ४ जना घाइते भएका छन् ।

यसैबीच, सरकारले प्रदेश ५ को अस्थायी मुकाम रूपन्देही तोकेपछि दाङमा जारी आन्दोलन पनि झनै चर्किएको छ । सरकारको निर्णय विरुद्ध दाङको तुलसीपुर विशाल दवाव मुलक र्याली निकालिएको छ । दाङ प्रादेशिक राजधानी तोक्न दवाव दिदै आएको संर्घष समितिले सरकारले तत्काल निर्णय नसच्याए दाङबाट आठौं प्रदेशको माग गर्दै अर्काे आन्दोलन शुरु गर्ने चेतावनी दिएका छ ।

यस्तै, कपिलवस्तुमा पनि अनिश्चितकालीन बन्द आह्वान गरिएको छ । प्रदेश ५ को अस्थायी राजधानी रूपन्देही तोकिएपछि विरोधमा अनिश्चितकालीन कपिलवस्तु बन्द आह्वान गरिएको हो । जिल्लाको चन्द्रौटा, कृष्णनगर, गोरुसिंगे, जीतपुर, बहादुरगञ्ज, पकडी, मर्यादपुर लगायतका प्रमुख क्षेत्र बन्द गरिएको कपिलवस्तु युवा संघर्ष समितिका संयोजक एवं एमाले नेता रउफ अहमद खाँले बताउनुभयो ।

जिल्लाका कलकारखाना, विद्यालय, यातायात लगायतका सम्पूर्ण गतिविधि बन्द गरिका छन भने पूर्वपश्चिम राजमार्गअन्तर्गत कपिलवस्तु खण्ड ठप्प पारिएको छ ।

त्यस्तै, सरकारले प्रदेश नं. ७ को अस्थायी मुकाम धनगढी तोकेसँगै डोटीको दिपायलमा पनि आन्दोलन सुरु भएको छ । आन्दोलन संयोजन समितिले अनिश्चितकालीन डोटी बन्दको घोषणा गरेसंगै बिहानै देखि त्यहाँको जनजिवन प्रभावित भएको छ ।
आन्दोलनरत प्रदर्शनकारीले जिल्ला ट्राफिक प्रहरी कार्यालय डोटीको ट्राफिक पोस्टमा आगजनी गरेका छन् । दीपायल कुलपाटेमा रहेको ट्राफिक प्रहरी पोस्टमा उनीहरुले आगो लगाएका हुन् । जस्ताले बारेर बनाइएको घरमा राखिएको ट्राफिक पोस्ट जलेर पुरै जलेर नष्ट भएको छ ।

यता, सरकारले प्रदेश नम्बर ३ को अस्थायी राजधानी मकवानपुरलाई तोकेपछि भक्तपुरवासी पनिआन्दोलित भएका छन् । भक्तपुरवासीले आज दिउँसो विरोधका कार्यक्रमगर्ने भएका छन् । पूर्व उद्योग मन्त्री एवं एमाले युवा नेता महेश बस्नेतले भक्तपुरलाई ३ नम्बर प्रदेशको राजधानी बनाउन दबाव दिने आन्दोलनमा सहभागी हुन स्थानीयलाई आग्रह गरेका छन् ।

बस्नेतका अनुसार आज दिउँसो २ बजे सानोठिमी क्याम्पस अगाडि भेला भएर प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ ।
उता, प्रदेश २ को राजधानीको माग गर्दै आएको विरगन्जमापनि आजदेखि अनिश्चीतकालिन बन्दको आह्वान गरिएको छ । बन्दका कारण बिहानैदेखि यातायातका साधण चल्न सकेका छैनन् भने कलकारखाना लगायतका सबै ठप्प भएका छन् ।

Top