बिश्रान्ती बृद्धाश्रममा पूर्वाधार निर्माणले गति लियो

विदुर खवास ।
धनकुटा,  माघ – साढेतीन दशक देखि असहाय जेष्ठ नागरिकलाई सहारा र संरक्षण दिदै आएको धनकुटाको मुलघाट स्थित बिश्रान्ती बृद्धाश्रममा पूर्वाधार निर्माणले गति लिएको छ ।

दान तथा सरकारका विभिन्न परियोजना मार्फत आश्रीत जेष्ठनागरिकको सुविधा तथा विभिन्न धार्मिक र पितृकार्यका लागि अत्यावश्यक हरिहर भवन, पुराण श्रवण केन्द्र, पितृघर, आवास तथा बृद्धमैत्री पटाङगिनी लगायतका संरचना निर्माण भैरहेको छ ।

दान संकलन, दाताहरुको सहयोग र महिला वालवालिका तथा समाजकल्याण मन्त्रालयको करिब तीन करोड ४५ लाख रुपैयाँको लागतमा विश्रान्ती परिषरमा पूर्वाधार ब्यबस्थापनको काम चलिरहेको आश्रम ब्यबस्थापन समितिका महासचिव जनार्दन घिमिरेले जानकारी दिनुभयो । बृद्धाश्रममा पूर्वाधार ब्यबस्थापनका लागि दाताहरुले एक रुपैयाँ देखि ७७ लाख रुपैयँसम्म दान गरेका छन् ।

पितृ उद्धार र मनोशान्तीका लागि भन्दै पितृघर निर्माण गर्न संखुवासभाको चैनपुरका कृष्णगोपाल श्रेष्ठले दान स्वरुप ७७ लाख रुपैयाँ उपलब्ध गराएका हुन् । निर्माणाधिन हरिहर भवन मृत्यू संस्कारका लागि आउनेहरुलाई संस्कार अबधिभर निशुल्क उपलब्ध गराइने बताइएको छ । चालु आर्थिक बर्षको बजेटमा ब्यबस्था भए अनुसार शहरी विकास तथा भवन निर्माण विभाग मार्फत पनि ३२ जना बृद्धबृद्धाका लागि आधुनिक आवास गृह निर्माणको काम चलिरहेको छ ।

सरकाले बजेट बक्तब्य मार्फत सातवटै प्रदेशमा एक÷एकवटा बृद्धाश्रम खोल्ने कार्यक्रम ल्याएको थियो । सोहि अनुरुप बिश्रान्तीमा उक्त भवन निर्माणाधिन छ । आश्रीत बृद्धबृद्धाको भरणपोषणका लागि ब्यबस्थापनले चलाएको एक रुपैयाँबाट एक करोड अभियान जारि छ । ७ बर्ष देखि चलाइएको अभियानबाट १ करोड २५ लाख रुपयाँ संकलन भैसकेको छ ।

आर्थिक अभावका कारण बृद्धबृद्धाको भरणपोषणमै समस्या भएपछि ब्यबस्थापनले एक रुपैयाँबाट एक करोड अभियान चलाएको थियो । २०४१ सालमा समाजसेवीहरु स्व रामनारायण श्रेष्ण, कृष्णप्रसाद वस्ती, शिवप्रसाद पोखरेल, पहलमाज प्रधान, हरिप्रसाद घिमिरे तथा शारदाप्रसाद मिश्र र नीलबहादुर घिमिरेको पहलमा तमोर किनारमा स्थापना गरिएको आश्रमको जग्गा र पूर्वाधारमा मात्रै एक अर्ब भन्दा बढि लगानी भैसकेको छ ।

Top