बालविवाह कानुनी अपराध होः नरबहादुर कार्की

काठमाडौ ।  ब्यबस्था फेर्ने संघर्षका फेहरिस्त नेपालका राजनीतिक दलहरुको एजेण्डा अव सायद बिगत बन्दै गएका छन । समयान्तरले विकास अवस्यम्भावी ल्याउँछ । कसैले गर्ने भन्दा पनि समयको माग हो । नेपाली समाजको जिजीविषा अनि परम्पराको पनि आफ्नै मूल्य मान्यता छ । अमूल्य भएको कुनै पनि बस्तुलाई मूल्यहिन बनाएर हेर्ने नजर पनि यही समाजमा छन् ।
के सही हो र के गलत भन्ने बीचको भेद छुट्टयाउन नसक्ने हो भने त्यसको कुनै अर्थ त रहँदैन नै । औचित्यहीन भएर त्यसै खेर जान्छ । अहिले पनि हाम्रो नेपाली समाज अवचेतन र चेतनको मजधारबाट अघि बढि रहेको छ ।
विविधताले भरिएको हाम्रो समाजको सेरोफेरो एउटै परिधिमा अटाए पनि कुनै न कुनै मनोगत दशाबाट आक्रान्त छ । अर्कोथरि त्यसको ठिक बिमुख भएर उभिएको छ । आफूलाई वर्तमान परिवेशमा उभिएर हेर्ने कल्पना पनि गरेको पाइँदैन । किन कि, उनीहरु विगतकै शैलीबाटै आफूलाई अभ्यस्त बनाउन प्रयत्न गर्छन । नेपाली समाज अहिले यही गुण र दोषले ग्रस्त छ । भएको के थियो, भन्दा अव हुनु पर्ने के हो ? भन्ने विचार आम समाजमा फैलाउनु अपरिहार्य हो । महिला र पुरुषको बीचको स्वरुप भिन्नतालाई लिएर हुने टिका टिप्पणीले कुनै अर्थ राख्दैन । अर्थ राख्छ त केवल उसको सकारात्मक अनि प्रभावकारी कर्म र सोँचले ।
नारी र पुरुषलाई समान रुपमा अवसर र उत्तरदायित्व बहन गराउन सक्ने हो भने सायदै सुदुरमा बसेका ती छोरी चेलीको मुहारमा कान्ति छरिने थियो, भविष्य उज्ज्वल बन्ने थियो । आवश्यक न्यूनतम आधारभूत कुराबाट बञ्चित हाम्रा छोरी चेलीको आगत सुनौलो बनाउन शिक्षाको उज्यालो छर्नै पर्छ । सानैमा उनीहरुको विवाह गरि दिने अनि भविष्य अन्धकारमा धकेलिने अवस्था अझै हाम्रो समाजमा बग्रेल्ती छन् । ती छोरी चेलीको भविष्यलाई लिएर चिन्तनमा रहनु भएका, उनीहरुको भविष्य सुनौलो बनाउन सफा मन लिएर हिड्नु भएका जीवन रुपान्तरणका अभियन्ता नरबहादुर कार्की बालविबाह विरुद्धको महाअभियानका साथ नेपालका हरेक क्षेत्रमा पुगेर सचेतना फैलाउन तल्लीन हुनु हुन्छ । यो अभियान अनि सदैव उर्जाशील विचार प्रदान गर्ने व्यक्तिको उक्त जागरणलाई  नजिकबाट नियाल्न पत्रकार छबि पुरीले उहाँसँग गरेकाे कुराकानीको सम्पादित अंश ।
समाज परिवर्तनका लागि व्यक्तिगत परिवर्तन आवश्यक छ भन्दै आफ्नो अभियानमा क्रियाशिल हुनु हुन्छ, नेपाली जनजीवन र विदेशी जनजीवनलाई यहाँले कसरी बुझ्नु भयो त?
नेपाली समाजको मौलिक पक्ष आफैमा सुन्दर छ । किन भने आजसम्म हामी सामाजिकता र सामूहिकतालाई केन्द्रमा राखेर बाँच्ने गरेका छौँ । यसमा हाम्रो आफ्नै कला छ , त्यो पक्ष चाँहि मलाई साह्रै सुन्दर लाग्छ । अर्को कुरा चाँहि , बाहिरतिर पनि समाजको परम्परालाई महत्व दिने चलन छ । यसलाई बिकास र विस्तार गर्ने काम पनि भई नै रहेको छ ।
यहाँको धारणा सुन्दा विगतले के दियो या के गर्यो भन्दा पनि आगत नै अहम् हो भन्ने हुन्छ, त्यसैले अबको नेपाली समाज कस्तो होस् भन्ने परिकल्पना गर्नु हुन्छ ?

 

हामी एकदमै बृहत र समृद्ध नेपाली समाजको परिकल्पना गर्दछौँ ।

हामी एकदमै बृहत र समृद्ध नेपाली समाजको परिकल्पना गर्दछौँ । तपाइँले एकदमै ठीक कुरा गर्नु भो, किन कि विगतमा हामी को थियौँ ? कस्ता थियौँ ? भन्ने कुराले धेरै ठूलो सन्दर्भहरु राख्दैन । किनकि, हामीले चाहेर पनि विगत तिर जान सक्दैनौ । अव कुरा रह्यो नेपाली समाजको , पक्कै पनि अवको नेपाल हामी सबैको समृद्धिको निम्ति सवैको सपना पुरा गर्नको लागि अगाडि बढि रहेको समाज, जुन सपनाले समाजका विभिन्न हिस्सा र तह तक्काका मानिसका आवश्यकता र अनूभुतिहरुलाई सम्बोधन गरिरहेको होस् भन्ने चाहन्छु ।

 

आजका युवाहरु बौद्धिक तह र तप्काहरुको , देश विदेशमा रहनु भएका सम्पूण नेपालीहरुको सायद यसमा कसैको दुई मत छैन

अनि, त्यस्तो समाज जहाँ मानिसहरु समृद्ध मात्र होइन , उनीहरु खुशी पनि होऊन् । त्यस्तो समाजमा मानिसहरु व्यक्तिगत रुपमा सफल मात्र होइन , पारिवारिक हिसावले, सामूहिक हिसावले समग्र राष्ट्र एउटा परिवारको सूत्रमा बाँधिएको देख्न गइरहेका छौँ । आजका युवाहरुको , आजका बौद्धिक तह र तप्काहरुको , देश विदेशमा रहनु भएका सम्पूण नेपालीहरुको सायद यसमा कसैको दुई मत छैन, हामी एक्लैका लागि अर्थात् आफ्ना लागि खुशी भन्दा पनि सामूहिकताको खुशीका बारेमा त्यस्तो भविष्य बनाउन उद्धत भएका छौँ र त्यहाँ हामी हुनुपर्छ भन्ने लाग्छ ।

हामी त विगतबाटै पुरानै परिवेशबाट जकडिएर आएका छौँ, विगतको त्यो भूतले हामीलाई तर्साई रहन्छ, पछ्याई रहन्छ, त्यसैले त्यो मनोगत कारणबाट आफूलाई अलग गर्न के गर्नु पर्ला ?
राम्रो कुरा गर्नु भो , विगत आफै आउने होइन । विगत हाम्रो मनोगत विचार, हाम्रा हरेक दिनका कुराहरु, हाम्रा हरेक दिनका चिन्ताहरु, हामी जे कुरालाई विषय बनाउँछौँ, त्यही कुरा नै हाम्रो जीवनमा सत्यको रुपमा देखिने गर्दछ । यदि हामी विगतका कुरा धेरै गर्दछौँ भने चाहेर पनि विगतलाई आफूबाट टाढा बनाउन सक्दैनौ ।

त्यसकारण , मेरो विचारमा नयाँ पुस्ता र हामी सबैले आउने दिनका कुरा या हाम्रा भविष्यका बारेमा कुरा गर्दछौँ, त्यस बेला हामीले विगतलाई टार्न पनि पर्दैन, बिर्सिनु पनि पर्दैन र विगतलाई हामीले धिक्कार्नु पनि पर्दैन । किनकि, विगत त्यसै पनि गइ सकेको हुन्छ । जति समय आफूसँग हुन्छ त्यसलाई रचनात्मक कामका साथ समाज बदल्नु पर्छ भन्छौँ, त्यो बदलावको दिशा भविष्य हुनु पर्छ । हाम्रो बहश र छलफलको केन्द्रमा , हाम्रो ज्ञानको केन्द्रमा, हाम्रो परिवर्तनको केन्द्रमा, हामीले देख्न चाहेको भविष्य हुनु पर्छ । नकि, हाम्रा विगतका अधुरा आवश्यकताहरु ।
ग्रामीण जनजीवनलाई सामान्यता हामी मौलिक रुपमा लिन्छौँ र शहरलाई अलिकति विकास र आधुनिकतासँग गाँस्छौँ । शहरीया जीवनमा खाक्रो आडम्बर अनि ग्रामीण समाजमा मौलिकताका केहि अन्धविश्वास या पुरातन सोँच देखिएला, यहाँहरु जस्तो समाज परिवर्तनका अभियन्ताले दुई फरक परिवेशलाई कसरी बुझ्नु हुन्छ?
मेरो विचारमा कुनै पनि निरपेक्ष जीवनलाई ग्रामीण या शहरीया जे भनौँ यसलाई हामीले वास्तविक मान्नु पर्छ भन्ने लाग्दैन । किनभने, समाज आफैमा एउटा गति हो । यो गतिमा हामी कोही अगाडि त कोही पछाडि हुन्छौँ । यसलाई हामीले बीचबाट कसरी बु¤ने भन्दा, आफ्नो जीउने कला विशिष्ट किसिमको साेँच्नु पर्छ ।

 

समाज भन्दा पर मानिस एक्लै कहिले पनि खुशी हुन सक्दैन । यदि, हामीले त्यो सामाजिक संरचना विगार्छौ भने त्यो संचनालाई पुरा गर्न अर्को एउटा शताब्दी पर्खनु पर्छ ।

न कि, एउटा शहरीया समुदायले साेच्ने जस्तो, पश्चिमा अथवा आधुनिकताका नाममा भौतिक हिसावले परिपूर्ण जीवनमा मात्रै सबै थोक छ भन्ने पनि होइन र ग्रामीण जस्तो परम्परामै पनि सबै चीज छ भन्ने पनि होइन । यसको बीचमा जीवन समृद्ध हुनु पर्छ र जीवन सुसंस्कृत पनि हुनु पर्छ । किन भने, समाजकै बीचमा खुशी हुन्छ । समाज भन्दा पर मानिस एक्लै कहिले पनि खुशी हुन सक्दैन । यदि, हामीले त्यो सामाजिक संरचना विगार्छौ भने त्यो संचनालाई पुरा गर्न अर्को एउटा शताब्दी पर्खनु पर्छ ।

त्यसैले नेपाली समाजले , शहरीया समाजले आजको दिनमा सोँच्नु पर्ने कुरा के हो भने , समाज रातारात बनि हाल्ने या बदलिई हाल्ने कुरा पनि होइन । यो भत्किएपछि बनाउन धेरै समय लाग्छ । र, अर्को कुरा ग्रामीण समाजले पनि के स्वीकार्नु पर्छ भने , हाम्रो परम्परा अनि हिजोदेखि जे गरि राखेका थियौँ, त्यसैमा मात्रै नेपालीपन छ भन्ने होइन । नेपालीपन भनेको गतिशीलपन हो भनेर अघि बढ्नु पर्छ जस्तो लाग्छ ।
उसो भए, कुनै पनि मानिसले आफूभित्र खुशी र सुख खोज्न के गर्नु पर्छ त ?
मानिसहरु आज अलि बढि नै सुखी हुन खोजि रहेका छन् । उनीहरुलाई खुशीसँग त्यति धेरै चासो छैन । किनभन्दा खुशीसँगै कैयौँबेला सुखसँग जोडिएको हुन्छ । यो कुरा टार्न नमिल्ने हुँदा मानिस सुखी हुन खोजि राखेका छन् । तर कुनै पनि कुराले मानिसलाई सुखले खुसी दिन्छ भन्ने कुरा सुनिश्चित छैन । किन भने, खुशी मनको अवस्था हो , खुशी मानिसको सोँच्ने तरिकाले पैदा गर्ने अवस्था हो । र, खुशी मानिसको मनको आदत पनि हो । कुनै पनि मानिसहरु जुनसुकै अवस्थामा खुशी हुन सक्दैनन् । उनीहरु के ठान्छन् भने, बाहिरी संसारले मलाई खुशी हुनबाट रोक्यो, मलाई खुशी हुनबाट बञ्चित गर्यो भन्ने ठान्छन् । यो कुरा उनीहरु आफै तिरै फर्कनु पर्छ । मेरो विचारमा आजको नेपाली समाज वा व्यक्तिले कम्तिमा के पुनर्विचार गर्नु पर्छ भने, म मेरो खुशीको लागि आत्मनिर्भर मान्छे हुँ । यदि म खुुसी छैन भने म मेरो कुरा गलत ठाउँमा खोजीरहेको छु भन्ने बुझ्नुपर्छ ।
मानिस भावनात्मक दुनियाँबाट अलग हुदै भौतिक सुःखको दौडमा छ । यसो गर्दा उसले आफ्नो सुःख र खुसी दुबै गुमाउदै गएको छ , भन्दा सहि हुन्छ ?
मेरो बिचारमा तपाई एकदमै सहि हुनुहुन्छ । किनभने सुखको नाममा यसले मानिसलाई अरु हतोत्साहि बनाएको छ । किन कि सुख बस्तुगत छ । बस्तुगत कुराहरुको जहिले पनि मापन मैले पाएको ठिक कि बेठिक तुलना गर्ने भैरहेको हुन्छ । त्यसले गर्दा तपाई ठिक हुनुहुन्छ । तपाईँ एकदमै सहि हुनुहुन्छ ।

सुखको नाममा यसले मानिसलाई अरु हतोत्साहि बनाएको छ ।

पछिल्लो समय तपाई छोरीचेलीहरुका लागि जागरण लिएर देशका कुनाकन्दरामा घुम्दै हुनुहुन्छ । छोरीका लागि स्वर्णीम महाअभियान जसरी बनेको छ । त्यस्तै सहज छ र ?
चुनौति धेरै छैनन् । बिषयलाई जति गाम्भीर्यताका साथ लिनुपर्ने हो, त्यसरी नै लिन सकेनौ । यो बिषय हामी कसैले सम्बोधन गर्ला भनेर, चेतना छैन, शिक्षा छैन वा यो छैन र त्यो छैन भनेर हामीले कठिन मानि राख्यौ । तर, जब हामी गाउँ बस्तीमा पुग्यौ । किशोर किशोरी अनि उनीहरुका आमाबुबाहरुसँंग, त्यहाँका हजारौ समुदायसंँग भेट्याैँ ।

त्यहाँ जाँदा हामीले एउटै चुनौति पायौँ । त्यो के हो भन्दा, समस्यालाई हामीले चाहिने भन्दा गाह्राे बनाएर बुझ्ने गरेका छौँ । परिवर्तनलाई हामीले जहिले पनि असम्भब बनाएर बुझ्ने गरेका छौँ । हाम्रो यो तौर तरिका, हाम्रो यो मानसिकता बदल्ने बित्तीकै हामीले हाम्रा हजारौ छोरीहरु, अझ आजको दिनमा भन्ने हो भने करिब ३३ लाख छोरीचेलीहरुको जीवनमा नयाँ परिवर्तन आउन सक्छ । त्यो पनि धेरै छिटो । चुनौति भन्दा पनि हामीले ध्यानदिनुपर्ने कुरा के हो भने, यो कुरालाई जहिले पनि अस्वीकार गर्ने क्षमता भएन ।

 

हाम्रो यो मानसिकता बदल्ने बित्तीकै  करिब ३३ लाख छोरीचेलीहरुको जीवनमा नयाँ परिवर्तन आउन सक्छ ।

उदाहरणकै लागि प्रशासनले यो बैधानिक होईन , कानूनी हिसाबले हिंसा हो , या अपराध हो भनेर खुलेर भन्न सकेन । अनि, राजनीतिक हिसाबले यसको संरक्षण गर्न तिर लाग्याे। सामाजिक हिसाबले हामी यसलाई फेर्न सक्दैनौ भन्नेतिर लाग्याैँ, त्यतिमात्र हो । जब हामीले बालविवाह स्वीकार छैन भन्छौ, तब हामी देख्ने छौँ, समाजमा धेरै परिवर्तन भएको, सु्न्दर भएको ।
गुण दोष या सहि गलत समाजबाटै छुट्टीएन । त्यसको भागिदार हाम्रा कलिला छोरीचेलीहरु भए, तपाईहरु जस्तो सामाजिक अभियन्ता, नागरिक समाज या समाज परिवर्तनका संबाहकहरुको अब चाँहि शसक्त उपस्थिति आवश्यक देखियो हैन ?
हजुर, एकदमै । किन कि यो सवालले गर्दा नेपाल र नेपाली जनता तथा हामी मानव हुनुको नाताले, हामीहरुले यसको के परिणती भोग्नुपर्छ भन्ने कुरा यसका सबै सरोकारवालाहरुले गम्भीर भएर बुझ्न जरुरी छ । किन कि, छोरीहरुको विवाह भनेको बाल्यकालमा भैरहेको उनको जटिलताहरुको प्रक्रिया मात्र होईन, यो हजाराै सपनाहरुको मृत्यु हो । एउटा छोरीले जन्मजात जीवनमा स्वतन्त्र रुपमा बाँच्न जन्मेको हुन्छ । ती स्वतन्त्रताहरु र सम्भावनाहरुको मृत्यु हो ।

एक बालीका विवाहित हुने बित्तिकै उनको शिक्षामा, सीपमा, ज्ञानमा उनको प्रजनन् स्वास्थ्यमा, शारिरीक स्वास्थ्यको अवस्थामा मात्र नभई अर्थतन्त्रको दरो हिस्सा भएर उत्पादक जनशक्ति भएर देश र समाजलाई जे दिनुपर्ने हो, ति सबै दिने यी सम्भावनाहरुको एकैचोटि अवरुद्ध गर्ने प्रक्रिया बालबिबाह हो । मैले भन्न खोजेको कुरा के हो भने, हाम्रो प्रणाली, हाम्रो संस्कार, हाम्रो सरकार, हाम्रो कानून लगायत हरेक तह र तप्कामा यो कुरालाई मौन हिसाबले स्वीकारिएको छ । त्यो स्वीकार नै सबैभन्दा खतरनाक छ । छोरीहरु आफै विवाह गर्छन् भनेर पनि हामी कहिलेकाहीँ भन्छौ । त्यो आफै विवाह गर्ने वातावरण बन्ने पनि एउटा सामाजिक परिवेश छ ।

बाल्यकालमा भैरहेको उनको जटिलताहरुको प्रक्रिया मात्र होईन, यो हजाराै सपनाहरुको मृत्यु हो ।

किनभन्दा यो सहज रुपमा स्वीकार गरिन्छ । सञ्चारमाध्यम, राजनीतिक दल, कानून, प्रशासन अनि राज्यका सबै निकाय र समाजबाट यो स्वीकार्य छैन भन्ने आम सत्य बन्यो भने, सकिन्छ । हो, मेरो बिचारमा त्यो सत्य बनाउन जरुरी छ । त्यसका लागि एउटा अभियान , अभियानकर्ताहरु , अभियन्ताहरु दुई चार जना अथवा एउटा नागरिक अभियान मात्र काफी छैन, यहाँको भनाई सत्य हो , यसलाई वास्तव मै अनूभुति हुने गरि कार्यान्वयन गर्न सवै पक्षबाट अझ गम्भीर रुपमा लिईनु पर्र्छ भन्ने मलाई लाग्छ ।
छोरी चेलीको विषयमा तपाई जति गम्भीर बन्नु भएको छ, यो त सवैको साझा चासोको विषय हो , तर पनि सबैको साेँच या धारणा सकारात्मक बनाउन समय लाग्छ, परिवर्तनलाई स्वीकार गर्ने लायक बनाउन आधारभूत रुपमा के के आवश्यक देख्नुहुन्छ?
मेरो विचारमा परिवर्तनका लागि आजैबाट गर्न सकिने एउटा कुरा के हो भन्दा , हरेक छोरी या बालिकाले शिक्षा पाउने र शिक्षित नभई कन , उनको हातमा दक्षता र ज्ञान नभईकन उनले आफ्नो जीवनमा पटक पटक सम्झौताको जीवन बाँच्नु पर्ने छ । त्यो सम्झौताको प्रकृयाको शुरु हुने मूल कारण के हो भन्दा, आफ्नो जीवनको स्वअस्तित्व र स्वाभीमानका साथ बाँच्नका लागि शिक्षा पाउने छ , हामीले वकालत गर्नु पर्ने कुरा के हो भन्दा सबै बालिका या छोरीले उनले चाहे जति पढ्न पाउने वातावरण र पढ्नका लागि समाजले र राज्यले तथा विभिन्न निकायले उनको शिक्षामा सहयोग गर्यो या वातावण बनाई दियौ भने, हामीले विवाह नगर भन्नु पर्दैन ।

किन भने, त्यो एउटा काम हो जो हामी सबैले गर्न सक्छौँ र गर्नु पनि पर्छ , पहिलो कुरा । दोश्रो कुरा के हो भने , हामी नियम कानून र विभिन्न विधि बनाउँछौ भने ती सबै पालना गर्न कै लागि बनाइन्छन् । तिनीहरुलाई बेवास्ता गर्नका लागि बनाइएका हुँदैनन् । आजको हाम्रो स्थानीय सरकार , प्रशासन, आजको हाम्रो कानूुनले कुनै महिलाले , कुनै छोरीले आफूले आफैलाई सुरक्षा गर्न सकेनन् भन्दैमा त्यस्ता खालका घटनाहरुलाई उनीहरुले उठाएनन् भने तपाईँ हामीले मूकदर्शक भएर हेरेर बस्ने होइन । कुनै पनि व्यक्ति र छोरी बोल्न सक्छ बालविवाहको विरुद्धमा । हो, यहि आवाज उठाउनका लागि हामी छोरी चेली , समाजका हरेक व्यक्तिका अगाडि जार्नु पर्ने कारण चाँहि त्यो हो ।
कतिपय व्यक्ति म जानकार छु , साक्षर छु , मेरो परिवार ठिक भए त भई हाल्यो नी, अरुको विषयमा किन टाउको दुखाउनु भन्दै आफ्नो ज्ञान अरु सामू व्यक्त नगरि दिँदा पनि चुनौति थपिएको हो कि ? या जो जानकार नै छैनन् त्यही भएर हो कि?
हो पक्कै पनि , त्यही भएर अहिले हामी समुदायमा गएर र्याली गर्ने, बालविवाह नगर भन्ने अथवा भइ परि आउने समस्याको दृश्य पैदा गर्ने मात्र होइन, समाजमै रहेर उनीहरु कै बीचमा बसेर पाँच, छ घण्टा बहस चलाई राखेका छौँ । छोरी चेलीहरु हामीसँगै संलग्न छन्, त्यहाँका सरोकार पक्ष संलग्न छन् , त्यहाँका राजनीतिक दल संलग्न छन् , प्रशासन संलग्न छ ।

हामी सबैले बुझ्नु पर्ने कुरा के हो भन्दा हाम्रो उद्देश्य, समुदाय–समुदायमा गएर एउटा छोरी चेलीको बालविवाह रोक्नका लागि, छोरीहरुको स्वर्णीम नेपाल बनाउनका लागि अब छोरीलाई केन्द्र मै राखेर विकासको बारेमा साँच्नु पर्छ, छोरीलाई केन्द्रमा ल्यायौँ भने त्यसले आमूल रुपमै सामाजिक सकारात्मक परिवर्तनलाई धेरै सजिलो बनाउँछ भन्ने बहसहरु हुन्छन् र तपाईले भने जस्तै, समुदायको आफ्नै चेतना छैन भने, त्यो चेतना नभएको समुदायलाई त्यसलाई संरक्षण र सहयोग गर्नका लागि अरु सरोकार पक्ष, सम्बद्ध पक्ष, कर्तव्य निर्वाह गर्ने पक्षहरुले कटिबद्ध भएर लाग्नु पर्छ भन्ने मूल आशय चाहिँ त्यो हो ।

Top