पाँचथरमा अदुवा खेतिमा समस्या बढेपछी किसान मारमा

सरोज शर्मा
पाँचथर, ३० पुस । अलैची पछि मुख्य नगदेबालीका रुपमा रहेको अदुवा थप समस्या ग्रस्त बन्दै गएको छ । गुणस्तरीय अदुवा उत्पादन गरी विक्रि वितरण गर्नका लागि विभिन्न समस्या उत्पन्न भएकाले कृर्षकहरु मारमा परेका छन । मूल्य, जारीकरण, गुणस्तर, रोग किरा लगायतका कारणले अदुवा खेती समस्यामा गुज्रिरहेको सरोकारवालाले बताएका छन ।

अदुवाको समस्याको पहिचान गर्ने उदेश्यले पाँचथरको फिदिममा आयोजन गरेको राष्टिय कृर्षक समुह महासंघको कार्यक्रममा अदुवाका समस्याबारेमा जानकारी गराईएको हो । जिल्लाका आधा दर्जन भन्दा बढी ठाउँमा समस्या पहिचानका लागि कार्यक्रम गरेको महासंघले खास समस्या के हो भन्ने बिषय पत्ता लगाएका छन ।

तर तिनको समाधानका लागि नीतिगत सुधारको आवस्यकता पर्ने भएकाले जिल्ला तहमा त्यसको समाधान हुन नसक्ने सरोकारवालाले बताए । महासंघले पत्ता लगाएका समस्याहरुमा तह बिभाजन गरिएको छ । कृषकको तहमा रोपणको तरिका, भण्डारण बिधि, ढुवानीको तरिका लगायतका बिषयमा समस्या रहेका छन । त्यस्तै ब्यवसायीहरुका लागि नीतिगत समस्या रहेका छन । महासंघका अध्यक्ष गणेश पोख्रेलले भने–हामीले गरेका कार्यक्रममा आएका समस्यालाई हेर्ने हो भने ब्यवसायीहरुका लागि नीतिगत समस्या रहेका छन ।

ठाउँठाउँमा कर लिइने कारण पनि समस्या हुने गरेको छ । यसै पनि निकासी गर्नु पर्ने कृषी उपजका ब्यवसायीलाई समस्या छ त्यसमा पनि अदुवामा झन समस्या छ । जिल्ला भन्दा बाहिरका ब्यापारिहरुका कारण पनि समस्या हुने गरेको छ । यहाको मुख्य बजार बिर्तामोर्ड हुँदै भारत र काठमाण्डौ नै हो । फिदिम–१० का कृषक यज्ञ न्यौपानेले भने ‘सरकारले पटक्कै सहयोग गर्दैन । आधुनिक रुपमा खेती प्रणालीमा विकास गरेर लैजान सिप तथा प्रविधिको अभाव छ । खेती गर्ने कि नगर्ने भन्ने समस्या छ ।’

न्यौपानेको जस्ता गुनासा अधिकाश कृषकहरुको रहेको छ । मूल्य निर्धारणको काम भारतीय बजारबाट हुने भएकाले उचित मूल्य हासिल गर्न नसकेको बताइएको छ । उत्पादनमा गुणस्तरीयता ल्याउनकालागि दक्षता नभएको कृषकहरुले बताएका छन ।अदुवमा रोगकिराको सक्रमण बढ्न थालेकाले यसलाई हटाउन सरकारी स्तरबाट पहलहुन पर्ने उनीहरुको भनाई रहेको थियो । ठुला व्यापारीहरु विच प्रतिस्पर्धा नहुँदा राम्रो मूल्य हासिल हुन नसक्ने गरेको कृषकको भनाई छ ।

नेपालमा उत्पादन भएको अदुवा ६० प्रतिशत निकासि हुने बताईन्छ । तर यहाँ उत्पादित अदुवा प्रसोधन नभई भारतीय बजारमा पुग्ने गर्छ । पखाल्ने काम समेत भारतमै हुने गरेको छ । तेस्रो मुलुकमा समेत अदुवाको बजार भएपनि त्यहाँसम्म अदुवा लैजान सक्ने अवस्था छैन । खनिएपछि चाडोँ विग्रिने भएकाले भण्डारनमा समेत समस्या छ । जिल्लाका बिभिन्न स्थानमा पुगेर महासंघले सचेतना तथा समस्या पहिचानका लागि काम गरिरहेको छ । जिल्लाको थर्पु, फिदिम र यासोकमा त्यस्ता कार्यक्रम आयोजना गरिएको छ ।

अभियान जारी छ । महासंघका कार्यक्रम संयोजक तिबेन्द्र खतिवडाले भने–हामी अदुवाको ब्यवसायीक उत्पादनमा नीतिगत सुधारको अभियानमा छौ ।

Top