जाडो थेग्न परालकै भर

काठमाडौँ, ३० पुस – सरस्वती ऋषिदेवलाई आफ्नो उमेर कति वर्ष भयो याद छैन। ‘नागरिकता हेर्नुपर्छ,’ उनले भनिन्, ‘१५÷१६ वर्षमा बिहे गरेको।’उनी अहिले सायद २५÷२६ वर्षकी भइन्। तर, उनी चार जना छोराछोरीकी आमा भइसकेकी छन्। ‘छोरी पाउने भनेर छोरै छोरा भए,’ कान्छो सन्तानका रूपमा छोरी पाएकी उनले भनिन्, ‘छोराले भन्दा बढी माया गर्छ भनेर छोरी पर्खेको, अब नपाउने।’

उनका सन्तान नजिकैको मनमोहन प्राविमा पढ्छन्। बिदाका दिन भएकाले शनिबार उनीहरू गाउँमै खेलिरहेका थिए। उनका श्रीमान् रिक्सा चलाउन बिहानै घरबाट निस्केका थिए। उनी भने छिमेकीसँग घर अगाडिको कच्ची बाटोमा घुर तापिरहेकी थिइन्। उनको घरअगाडि बाटोभरि बालिएको परालको धुवाँ उडिरहेको थियो। थारू र ऋषिदेव समुदायको बसोबास रहेको उक्त बस्तीको दिनचर्या अहिले बिहान र बेलुका घुर ताप्नु बनेको छ। ‘निकै जाडो छ, छोराछोरीलाई लुगा किन्नुभन्दा फोहोर र दाउरा बाल्नु नै सस्तो पर्छ,’ सरस्वतीले भनिन्।

उनको माइलो छोरा नौ वर्षको भयो। हिँड्न सक्दैन। जन्मिँदै अपांगता भएको उनको छोरो दुईकोठे प्लास्टर नगरिएको पक्की घरभित्र परालमाथि ओछ्याइएको गुन्द्रीमा बसेको थियो। उनी भन्दै थिइन्, ‘जाडोमा ओढ्न भनेर एउटा ब्ल्यांकेट त नगरपालिकाले सहयोग गरेको छ, त्यही पनि छोरोले दिसा गरेर फोहोर बनाइदिन्छ, दुई वटा मागेको दिएनन्।’ आजको अन्नपूर्णमा खबर छ ।

Top