पाँच बूँदे सम्झौता पछि डा केसीले आज अनशन तोड्दै

काठमाडाैं, २९ पुस – सरकार र अनसनरत डाक्टर गोविन्द केसीबीच पाँच बुदे सहमति भएपछि आज डाक्टर केसीले अनसन तोड्नुहुने भएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा लगायतका माग राख्दै पाँचदिन देखि आमरण अनसनमा बस्नुभएका डाक्टर केसीले आज बिहान १० बजे अनसन तोड्नुहुने भएको छ । सरकारका तर्फबाट स्वास्थ्यमन्त्री दीपक बोहरा र डाक्टर केसीबीच गएराति पाँचबुँदे सहमति पत्रमा हस्ताक्षर भएको थियो ।

सहमतिपत्रमा चिकित्सा शिक्षा अध्यादेशको दफा ५ बमोजिमको चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन दफा २३ बमोजिमको सिफारिस समिति ७ दिनभित्र गठन गर्ने, आईओएमका डिन डा.जगदीशप्रसाद अग्रवालको नियुक्तिलाई नै निरन्तरता दिन त्रिवि कुलपतिमार्फत सम्बन्धित निकायलाई निर्देशन दिने सहमति भएको छ ।

यसैगरी आईओएमको कटौती गरिएको अधिकार फिर्तासम्बन्धी त्रिवि नियमावली संशोधनका लागि तत्काल त्रिवि सभा (सिनेट) को विशेष बैठक बोलाउने, त्रिवि शिक्षण अस्पताल सुधार सम्बन्धी मागसम्बन्धमा त्रिवि शिक्षण अस्पतालको भौतिक पूर्वाधारको सुधार र अभिवृद्धि, जनशक्तिको उचित व्यवस्था, सर्वसाधारणलाई दिइने सेवा र सुविधामा बिस्तारका लागि आइओएम डिन कार्यालयले राख्ने बिस्तारित प्रस्तावमा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले आवश्यक आर्थिक व्यवस्था गर्ने लगायतका सहमति भएका छन् ।

Top