सरकारद्धारा ३८ बर्ष पछि १६ जनालाई शहिद घोषणा

काठमाडौं,२९ पुस– सरकारले २०३६ सालमा धनकुटाको छिन्ताङमा राज्यपक्षबाट मारिएका १६ जनालाई शहिद घोषणा गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले घटनाको ३८ बर्ष पछि मृतकलाई शहिद घोषणा गर्ने निर्णय गरेको हो ।

२०३६ साल कात्तिक २७ गते धनकुटाको खोकु छिन्ताङमा तात्कालिन भूमिगत विद्रोही समुहले गरेको कार्र्यक्रममा राज्य पक्षका सुरक्षाकर्मीद्धारा चलाईएको गोली लागि १६ जनाको मृत्यु भएको थियो ।

 

तीनै मृतकलाई शहीद घोषणा गरिएको हो । त्यसैगरी बैठकले २०७५ साल बैशाख १ गते देखि राष्ट्रिय आर्थिक गणना गर्ने निर्णय गरेको छ । बैठकले लाइभस्टक सेन्टर इन्नोभेसन आयोजनाका लागि विश्व बैंकबाट झण्डै ८ अर्ब रुपैयाको श्रृण स्वीकार गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी नेपाल न्यायसेवाको विशिष्ठ श्रेणीमा महेन्द्रनाथ उपाध्यायलाई बढुवा गर्ने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिनुभयो ।
बैठकले पुनरावेदन समितिको अध्यक्षमा हेमराज पन्तलाई तोक्ने लगायत केही बढुवाका निर्णयहरु पनि गरेको छ ।

आजको बैठकले प्रदेश प्रमुख र प्रदेशका अस्थायी मुकाम तोक्ने विषयमा छलफल गरेपनि निर्णय भने नगरेको सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिनुभयो । यसअघि आज बस्ने बैठकले प्रदेश प्रमुख र उच्च अदालत भएका ठाउँमा प्रदेश सभाको पहिलो बैठक बस्न मुकाम तोक्ने बताइएको थियो ।

 

 

 

Top