आन्दोलित नर्सहरुले एक घण्टा सेवा ठप्प पारेपछि…

काठमाडौं, २८ पुस – ११ बुँदे माग अघि सार्दै आन्दोलनमा उत्रिएका नर्सहरुले आज एक घण्टा काम ठप्प पारेका छन् । नेपाल नर्सिङ संघको आह्वानमा बुधबारदेखि आन्दोलित नर्सहरुले आज बिहान १० बजेदेखि ११ बजेसम्म अस्पतालबाहिर निस्किएर काम छाडेका थिए । जसका कारण देशैभरि नर्सिङ सेवा ठप्प भएको छ ।

त्रिवि शिक्षण अस्पताल, वीर, गंगालाल जस्ता ठूला अस्पतालका नर्सहरुले १० बजे नै काम छाडेको निस्किएको नर्स दुर्गा सापकोटाले जानकारी दिनुभयो । उनीहरुले ३० गतेसम्म सबै अस्पताल र शैक्षिक संस्थामा एक घन्टासम्म ड्युटी छाड्ने निर्णय गरेका छन् ।

उक्त अवधिमा पनि माग पूरा नभए माघ १, २ र ३ गते १० देखि १ अर्थात् ३ घन्टा ड्युटी छाड्ने उनीहरुले चेतावनी दिएका छन् । त्यसैगरी ४, ५ र ६ गते सबै अस्पताल र शैक्षिक संस्थामा ८ देखि ४ बजेको सिफ्टमै ड्युटी नजाने र माघ ७ गते २४ घन्टा नै ड्युटी छाडेर स्वास्थ्य मन्त्रालयमा धर्ना दिने कार्यक्रम तय भएको सापकोटाले बताउनुभयो ।

उनीहरुले मानव अंग प्रत्यारोपण केन्द्रबाट निष्काशन गरिएका नर्सिङ कर्मचारीहरुलाई बिनासर्त अविलम्ब पुनर्बहालीको माग राखेका छन् ।

Top