छाउपडी गोठमा १ वर्षमा ९ को मृत्यु

काठमाडौँ, २५ पुस – तुर्माखाद गाउँपालिका ३ भैरवस्थानको लकान्द्रामा छाउपडी गोठमा एक महिलाको मृत्यु भएको छ । सोमबार छाउगोठमा २३ वर्षीया गौरी बुढा (वयक) मृत अवस्थामा भेटिएकी जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

‘प्रहरी टोली घटनास्थल पुगेको छ । कसरी ज्यान गयो भन्ने जानकारी पोस्टमार्टमपछि मात्र थाहा हुनेछ,’ न्यौपानेले भने । स्थानीय उजिर विकका अनुसार आइतबार बेलुका खाना खाएर सुतेकी गौरी सोमबार बिहान मृत फेला परेकी हुन् ।

‘किन ढिलो उठिन् भनेर सोधखोज गर्न जाँदा मृत अवस्थामा भेटिएकी हुन्,’ विकले भने, ‘अघिल्लो साँझ खाना खाएर सुत्न जान्छु भन्दै छाउगोठ जाँदासम्म उनी बिरामीजस्तो थिइनन् ।’ घरबाट टाढा रहेको छाउपडी गोठमा झ्याल थिएन, भित्र आगो बालेको खरानी भेटिएकाले निसास्सिएर मृत्यु भएको स्थानीयको अनुमान छ । आजको कान्तिपुरमा खबर छ ।

Top