नमूना बन्दै दुर्गमको लक्ष्मीपूर आधारभूत विद्यालय

विनोदसिंह विष्ट ।
बैतडी – बैतडीको मेलौली नगरपालिका वडा नं ७ मा रहेको लक्ष्मीपूर आधारभूत विद्यालय पछिल्लो समयमा नमूना बन्दै गएको छ ।

विद्यालयमा सरसफाईका कार्यक्रमलाई संगठित रुपमा अघि बढाएपछि विद्यालयको वातवरणीय,शैक्षिक गुणस्तरमा समेत सुधार आएको विद्यालयका प्रधानाध्यापक पवित्रा कलौनीले जानकारी दिनुभयो । जिल्ला शिक्षा कार्यालयसंगको समन्वय विश्व खाद्य कार्यक्रमको सहयोगमा विकास तथा प्रकोप व्यवस्थापन केन्द्रले खानेपानी सरसफाई तथा स्वच्छता प्रवद्र्धन कार्यक्रम अन्तर्गत विद्यालयमा सरसफाईका कार्यक्रम चलाउन सहयोग गरेपछि विद्यालयमा सुधार आएको उहाँले बताउनुभयो ।

अहिले विद्यालयमा बालबालिकाहरुलाई दिवाखाजा खानेबेला हात धुनका लागि साबुन पानीको व्यवस्था गरिएको छ उहाँले भन्नुभयो, विद्यालय परिसरमा फोहर हुन नदिनका लागि डस्टबीन र खाडलको व्यवस्था गरिएको छ”  विद्यालयलाई प्लास्टिकमुक्त बनाउने प्रयास गरिएको छ । विद्यालयमा खानेपानीको समस्या हुँदा बालबालिकाहरु फोहर हुने गर्दथे तर पछिल्लो समयमा सरसफाईका कार्यक्रम विद्यार्थीहरुको बानी व्यवहारमा समेत सुधार आएको छ ।

दिवाखाजा खानुभन्दा अघि र पछि बालबालिकाहरुले साबुनपानीले हात धुने गरेका छन् । विद्यार्थीहरुबाटै सरसफाईका कार्यक्रमलाई अघि बढाउनका लागि विद्यालस्तरीय बालक्लब गठन गरिएको छ भने अभिभावक सम्मिलित विद्यालयस्तरीय खानेपानी सरसफाई तथा स्वच्छता समन्वय समिति पनि गठन गरिएको छ ।

जिल्लाका १९९ ओटा विद्यालयमा खानेपानी सरसफाई तथा स्वच्छता प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिएको विकास तथा प्रकोप व्यवस्थापन केन्द्रका कार्यक्रम संयोजक सुरेन्द्र जैरुले जानकारी दिनुभयो ।

बालबालिकाहरुको सरसफाईमा पनि परिवर्तन
बैतडीका १९९ ओटा आधारभूत विद्यालयहरुमा खानेपानी तथा स्वच्छता प्रवद्र्धन कार्यक्रम शुरु भएपछि विद्यालयको वातावरणीय सरसफाईका साथै बालबालिकाहरुको सरसफाईमा पनि परिवर्तन आएको छ । जिल्ला शिक्षा कार्यालयसंग समन्वयमा शिक्षाका लागि खाद्य कार्यक्रम सञ्चालन भएका विद्यालयमा विकास तथा प्रकोप व्यवस्थापन केन्द्रले कार्यक्रम सञ्चालनमा ल्याएको कार्यक्रम संयोजक सुरेन्द्र जैरुले जानकारी दिनुभयो ।

सरसफाईका माध्यमबाट शिक्षाको गुणस्तरमा सुधार ल्याउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन भएको र यसले विद्यालयमा धेरै परिवर्तन ल्याएको उहाँले बताउनुभयो । कार्यक्रम सञ्चालन गरिएका विद्यालयमा विद्यालयस्तरीय खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति गठन गरिएका छन् भने विभिन्न किसिमका तालिमहरु समेत सञ्चालन भएका छन् ।

कार्यक्रमले विद्यार्थी तथा अभिभावकमा सरसफाईका बारेमा चेतना जागेको लक्ष्मीपूर आधारभूत विद्यालय मेलौली ७ पच्कोरका प्रधानाध्यापक पवित्रा कलौनीले जानकारी दिनुभयो । कार्यक्रमले बालबालिकाहरुमा सरसफाई गर्नुपर्छ भन्ने धारणा विकास भएको छ भने बालबालिकाहरुले अभिभावकहरुलाई सरसफाईका बारेमा सिकाउने गरेको उहाँले बताउनुभयो ।

Top