पढाईको उपलब्धी खोज्न कालीकोटमा सिकाई मेला

साधना शाही
कालीकोट मंसिर २२ ।  कालीकोटमा विद्यार्थीहरुका लागि सिकाई मेला शुरु भएकोे छ ।

स्थानीयस्तरमा उपलब्ध सामग्रीहरुको अधिकतम् उपयोग गरि शैक्षिक सामग्रीको निर्माण र प्रयोगद्वारा विद्यालयमा गुणस्तरीय सिकाई वातावरणको निर्माण तथा विद्यार्थीहरुको सिकाई उपलब्धी बृद्धि गर्न युनिसेफ र विश्व शिक्षाको सहयोग तथा जिल्ला शिक्षा कार्यालय कालीकोटको समन्वयमा किर्डाक नेपाल कालीकोटले इलाका स्तरीय शैक्षिक प्रर्दशनी तथा सिकाई मेला गरेको हो ।
जिल्लाको मान्म महादेव आधारभुत विद्यालयमा प्रदर्शन गरिएको सिकाइ मेलामा स्थानीयस्तरमा उपलब्ध सामग्रीबाट बनाइएका विभिन्न शैक्षिक सामग्रीहरु प्रर्दशनीमा राखिएको छ । मेलामा १ सय ७५ वटा सामग्री बनाएर प्रदर्शन गरिएको छ । विभिन्न ६ वटा विद्यालयले आफ्ना विद्यालयमा तयार पारेका शैक्षिक सामग्रीहरु प्रदर्शन गरेका छन् ।
सिकाइ मेलामा विद्यालयका शिक्षक शिक्षिकाहरुले बनाएका शैक्षिक सामग्री समेत प्रदर्शन गरिएको छ । मेलामा प्रारम्भिक तहका बालबालिकाहरुले बनाएका सामग्रीहरुको कार्यक्रममा सहभागी रहेका अतिथिहरुले अवलोकन गरेका छन् ।

शुक्रबार भएको सिकाइ मेलामा जिल्लाको शैक्षिक अवस्था नाजुक हुँदै गएकोले यसलाई सुधार गर्न सहयोग पुग्ने बताइएको छ । मेला उद्घाटन गर्दै खाँडाचक्र नगरपालिकाका प्रमूख जसीप्रसाद पाण्डेले बालबालिकाहरुलाई पढाइ मात्र नभई उनीहरुलाई स्थानीयस्तरमा बनाइने शैक्षिक सामग्रीहरु प्रयोग गरी ज्ञान र सीपलाई अभिवृद्धि गर्न मेला सहयोगी बन्ने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले इलाका स्तरीय सिकाइ मेलामा आएका विद्यार्थीहरुको कला, सीप र क्षमतामा बिकास गर्ने बताउनु भयो ।
सिकाइ मेलामा नेपाली र गणित विषयको शैक्षिक सामग्री, विभिन्न खेलहरुको प्रदर्शनी,विभिन्न शैक्षिक सन्देश, तथा विद्यार्थीहरुले प्रतिभासमेत प्रस्तुत गरेका छन् ।

मेलामा नेपाली, अंग्रेजी, विज्ञान, गणित र सामाजिक गरी ५ भाषा क्षेत्रमा विभाजन गरिएको छ । टोपेन्द्र बमको संयोजकत्वमा २ सदस्यीय मुल्याङ्कन समितिले विद्यार्थीले बनाएका शैक्षिक सामग्रीको मुल्याङ्कन गरी उनीहरुलाई पुरस्कृत गरिने अायाेजकले बताएकाे छ ।

Top