बैतडीमा आज बेलुका ५ बजेदेखि मतगणना हुने

विनोदसिंह विष्ट ।
बैतडी,२१ मंसिर – बैतडीमा बिहीवार साँझदेखि हुने मतगणनाको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मंसीर १० गते सम्पन्न भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतगणना लागि आवश्यक तयारी पुरा भएको मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतमले जानकारी दिनुभयो ।

मतगणनास्थलमा तारजालीको व्यवस्था, विद्युत जेनेरेटरको व्यवस्था गरिसकिएको छ । मतगणनाका कार्यलाई व्यवस्थित बनाउन बुधवार राजनैतिक दलका प्रतिनिधि र उम्मेद्वारसंग बैठक गरि विभिन्न निर्णयहरु समेत गरिएका छन् । उहाँले भन्नुभयो“ मतगणना बिहीवार साँझ ५ बजेदेखि शुरु गर्ने, प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतगणना एकैसाथ शुरु गर्ने सहमति भएको छ”

प्रदेशसभाको दुवै क्षेत्रको मतगणना दशरथचन्द नगरपालिकाको हलमा गरिने छ भने प्रतिनिधिसभाको मतगणना दशरथचन्द नगरपालिकाका कोठामा गरिने भएको छ । प्रत्यक्ष तर्फको मतगणना सकिएपछि मात्रै समानुपातिक तर्फको मतगणना गरिने मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो ।

निर्वाचनसम्पन्न भएपछि दशरथचन्द नगरपालिकामा मतपेटिका भण्डारण गरिएको छ भने सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीले मतपेटिकाको सुरक्षा गरिरहेका छन् । मतपेटिका सुरक्षाका लागि राजनैतिक दलका प्रतिनिधिहरुले पनि पहरा दिईरहेका छन् । लोकतान्त्रिक गठबन्धन र बामगठबन्धनका पदाधिकारीहरुले मतपेटिकाको सुरक्षाका लागि पहरा दिईरहेका हुन् ।

१ लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा प्रतिनिधीसभा तथा प्रदेससभाको निर्वाचनमा ७६ हजार ३४३ मतदाताले मात्रै मतदान गरेका थिए । बिहीवार साँझदेखि मतगणना शुरु हुनेभएपछि मतदाताहरु पनि उत्साहित भएका छन् । निर्वाचन भएको झण्डै ११ दिनपछि मतगणना शुरु हुनेभएपछि कसले बाँजी मार्ला भन्ने अडक्ल समेत काट्न थालेका छन् । यसैबीच मतपरिणाम नआउन्जेल सम्म बैतडी सदरमुकाममा मदिरा बेचबिखनमा रोक लगाइएको छ ।

जिल्ला प्रहरी कार्यालयले होटेल व्यवसायीहरुसंग अन्तरक्रिया गरेर बिहीवार देखि मतगणना हुने भएकाले मदिराको कारोबार रोक लगाउने बिषयमा छलफल भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

Top