ढुक्क भएर मतदान गर्न आयोगको आग्रह

काठमाडौं, २१ मंसिर – प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचन आज ४५ जिल्लाका निर्वाचन क्षेत्रहरुमा हुँदैछ । दोस्रो चरणमा प्रतिनिधिसभाको १ सय २८ र प्रदेशसभाको २ सय ५६ सिटका लागि मतदान हुन लागेको हो ।

प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको कुल १ सय ६५ सिट मध्ये ३७ र प्रदेशसभाको प्रत्यक्षतर्फको कुल ३ सय ३० सिटमध्ये ७४ सिटमा मंसिर १० गते पहिलो चरणमा निर्वाचन सम्पन्न भइसकेको छ । दोस्रो चरणको मतदान सकिएपछि बिहीबारबाटै पहिलो र दोस्रो चरणको मतगणना प्रारम्भ हुनेछ ।

पहिलो चरणमा हिमाली तथा पहाडी ३२ जिल्लामा निर्वाचन भएको थियो । यतिबेला तराईका सबै र पहाडका जिल्लाहरुमा मतदान हुन लागेको छ । प्रमुख दलका अधिकांश शीर्ष नेताहरु दोस्रो चरणकै चुनावमा प्रतिस्पर्धी छन् । संविधानले व्यवस्था गरेअनुसार केन्द्रीय संसद र सातवटै प्रदेश संसदको गठन मिश्रित निर्वाचन प्रणालीबाट हुन लागेको हो ।

प्रतिनिधिसभाको कुल २ सय ७५ सदस्यमा १ सय ६५ जना पहिलो हुने निर्वाचित प्रणालीबाट र १ सय १० जना समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने छन् । प्रदेशसभातर्फ सबै प्रदेशको गरी प्रत्यक्षबाट ३ सय ३० र समानुपातिकबाट २ सय २० जना सदस्य निर्वाचित हुनेछन् । जनसंख्याको अनुपातमा प्रदेशपिच्छे प्रदेशसभामा सदस्यसंख्या फरक छन् । दुवै सभाको प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीको मतदान सँगै हुने हो ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दोस्रो चरण निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको र सुरक्षा व्यवस्था पनि सुदृढ रहेको बताएका छन् । देशका विभिन्न भागमा निर्वाचनलाई बाधा पुर्‍याउने प्रयत्न स्वरुप केही विष्फोटका घटनाहरु भएपछि सुरक्षा सतर्कता बढाइएको छ ।

Top