उत्साहपूर्वक मतदान हुँदै, ३३ प्रतिशत मत खस्योः आयोग

काठमाडौं, २१ मंसिर –  प्रदेश र प्रतिनिधिसभा सभा सदस्यका लागि भएको दोस्रो चरणको निर्वाचनमा अहिलेसम्म ३३ प्रतिशत मत खसेको छ । बिहान ११ बजेसम्म ४५ जिल्लामा रहेका मतदातामध्ये ३३ प्रतिशत मत खसेको निर्वाचन आयुक्त नरेन्द्र दाहालले जानकारी दिनुभयो ।

उहाँका अनुसार मतदान उत्साहजनक रुपमा भैरहेको छ । मतदानको समय बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म तोकिएको छ ।  प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका ७ हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा आज मतदान भइरहेको छ ।

अपरान्ह ५ बजेसम्म आफ्नो मतदाता नामावलीमा नाम रहेको मतदान केन्द्रमा प्रवेश गर्ने मतदाताले मात्रै मतदान गर्न पाउने व्यवस्था रहेको आयोगले जनाएको छ ।

Top