मतपेटिका कुर्न चिसोले सकस

जुम्ला, २० मंसिर – मंसिर १० गते भएको पहिलो चरणको निर्वाचनको मतगणना हुन अझै बाँकी छ । दोस्रो चरणको निर्वाचनपछि मात्रै मतगणना सुरु हुने भएकाले अहिले सुरक्षाकर्मी तथा दलका प्रतिनिधि मतपेटिका कुर्न बसेका छन् ।

जुम्लामा माइनस ४ डिग्री तापक्रममा पनि दलका प्रतिनिधि मतपेटिका कुरेर बसिरहेका छन् । विभिन्न मतदान केन्द्रबाट संकलन गरिएका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । मतपेटिकाको सुरक्षाका लागि दलका प्रतिनिधि, प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना तैनाथ छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंसिर २१ गते पाँच बजेदेखि मतगणना सुरु गर्ने तयारी गरेको छ । मंसिर २१ गते बेलुका ५ बजेबाट मतगणना गर्ने निर्वाचन आयोगको कार्यतालिकाअनुसार मतगणना कार्यका लागि पूर्वतयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

Top