मतदाता शिक्षामा दलकै भर

बुटवल, २० मंसिर – बुटवलबाट ४० किमि दक्षिणको डनवाक्सापुरमा दुर्गावती हरिजनले सोधिन्, ‘मोहर मार्के कसैन वा ।’ चुनाव प्रचार प्रसार सकिँदासम्म हरिजनलाई भोट कसरी हाल्ने भनेर कसैले सिकाएको छैन। न उनलाई कतिवटा मतपत्रमा छाप लगाउनुपर्छ भन्ने नै जानकारी छ ।

प्रचारमा उम्मेदवार भोट माग्दै गाउँ गाउँ आए पनि ग्रामीण क्षेत्रका धेरै मतदाता भोट कसरी हाल्ने थाहा नभएको बताउँछन् । यो समस्या समाधान गर्न अहिले दलहरूले समूह बनाएर मतदानको तरिका सिकाइरहेका छन्। मझगाउँका राजेन्द्र यादव पार्टीका तर्फबाट एक हजारभन्दा बढीलाई भोट हाल्ने तरिका सिकाएको बताउँछन् । उनले भने, ‘हामीले आफ्नो दलको चुनाव चिह्नमा कसरी छाप लगाउने भनेर सिकाएका छौं ।

पार्टीका तर्फबाट सिकाउने भएपछि अरूको चुनाव चिह्नमा छाप लगाउन भन्ने कुरा भएन ।’ मतदान गोप्य हुने भए पनि जिल्लाका ग्रामीण क्षेत्रमा कसले कसलाई मत दिन्छ भन्ने दलका कार्यकर्तालाई थाहा छ । त्यहीअनुसार उनीहरूले मत कसरी राख्ने भनेर सिकाउँदै हिँड्ने गरेका हुन् । सेमरीमाई गाउँपालिका ७ का वडाध्यक्ष अब्दुल सकर मुसलमान आफ्नो पार्टीका मतदातालाई छाप लगाउन सिकाएको बताउँछन् ।

उनी भन्छन्, ‘हामीले हाम्रो वडामा सिकाइसक्यौं । अरू वडामा के गरेका छन्, थाहा छैन ।’ दलहरूले चुनाव प्रचारमा जस्तै मतदान गर्न सिकाउने टोलीलाई गाडी दिएर घर घरमा पठाएका छन् । गाडीमा पार्टीको झन्डा मात्र हुँदैन, माइकबाट उम्मेदवारको प्रचार प्रसारसमेत गरिएको हुन्छ । अाजकाे अन्नपूर्णमा खबर छ ।

Top