बैतडीमा मतगणनाको तयारी हुँदै

विनोद सिंह विष्ट 
बैतडी,२०मंसिर । बैतडीमा भोली साँझदेखि हुने मतगणनाको तयारी हुँदैछ । मंसीर १० गते सम्पन्न भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतगणना लागि आवश्यक तयारी सुरु भएको मुख्य निर्वाचन अधिकृत विष्णु प्रसाद गौतमले जानकारी दिनुभयो ।

मतगणनास्थलमा तारबार लगाउने, मतगणना गर्ने कर्मचारी, मतगणनास्थलमा कम्प्युटरको व्यवस्था, विद्युत जेनेरेटरको व्यवस्था लगायतका तयारी सुरु भएको छ उहाँले भन्नुभयो“ मतगणनाका बिषयमा केहीबेरमा राजनैतिक दलका प्रतिनिधि र उम्मेद्वारसंग संयुक्त छलफल गरी भोली साँझ ५ बजेपछि मतगणना सुरु गरिनेछ ”

पहिले प्रत्यक्ष तर्फको प्रतिनिधि सभा र प्रदेशसभाको मतगणना गर्ने तयारी छ भने प्रत्यक्ष तर्फको मतगणना सकिएपछि मात्रै समानुपातिक तर्फको मतगणना गरिने मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो ।
निर्वाचनसम्पन्न भएपछि दशरथचन्द नगरपालिकामा मतपेटिका भण्डारण गरिएको छ भने सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीले मतपेटिकाको सुरक्षा गरिरहेका छन् ।

मतपेटिका सुरक्षाका लागि राजनैतिक दलका प्रतिनिधिहरुले पनि पहरा दिईरहेका छन् । लोकतान्त्रिक गठबन्धन र बामगठबन्धनका पदाधिकारीहरुले मतपेटिकाको सुरक्षाका लागि पहरा दिईरहेका हुन् । १ लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा प्रतिनिधीसभा तथा प्रदेससभाको निर्वाचनमा ७६ हजार ३४३ मतदाताले मात्रै मतदान गरेका थिए ।

Top