बैतडीमा धान र मकै उत्पादनमा बृद्धि

विनोदसिंह विष्ट ।
बैतडी,२० मंसिर – बैतडी जिल्लामा गत बर्षको तुलनामा यो बर्ष धान र मकैको उत्पादनमा बृद्धि भएको छ । समयमै बर्षा भएकाले तथा किसानलाई उन्नत जातको बिउ बितरण गरेकाले यो बर्ष धान र मकै उत्पादनमा बृद्धि भएको जिल्ला कृषि विकास कार्यालय बैतडीले जनाएको छ ।

यो बर्ष बैतडीमा १८ हजार ९ सय मेटिकट्रन धान उत्पादन भएको छ भने २३ हजार २ सय मेट्रिक टन मकै उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयका योजना बिकास अधिकृत कर्ण बहादुर चन्दले बताउनुभयो । गत बर्ष बैतडीमा १६ हजार ४७० मेट्रिक टन धान र १८ हजार ९९५मेट्रिक टन मकै उत्पादन भएको थियो ।

उहाँले भन्नुभयो“२ हजार ४३० मेट्रिक टन धान र ४ हजार २०५ मेट्रिक टन मकै बढी उत्पादन भएको छ ” बैतडीमा ९ हजार हेक्टर क्षेत्रफलमा धानको खेती गरीन्छ भने १४ हजार ५०० हेक्टर क्षेत्रफलमा मकै खेत गर्ने गरिएको छ । जिल्लामा सबै भन्दा मुख्य खाद्यन्न बालीको रुपमा मकै लगाउने गरीन्छ ।

केही बर्ष यता जिल्ला कृषि विकास कार्यालयले उन्नत जातको बिउ बितरण गरिरहेकोे भएकाले पनि पछिल्लो समय धान तथा मकै उत्पादनमा बृद्धि भएकोे जिल्ला कृषि विकास कार्यलय बैतडीले जनाएको छ ।  जिल्लाको पाटन,मेलौली, डिलाशैनी, पुर्चौडी,दशरथचन्द नगरपालिका, सुर्नयालाई धान उत्पादनका लागी पकेट क्षेत्रको रुपमा लिने गरिएको छ । मकै भने जिल्लाका अधिकांस क्षेत्रका राम्रो उत्पादन हुने गर्दछ ।

Top