यमनका पूर्व राष्ट्रपति अली अब्दुल्लाह सालेह मारिए

एजेन्सी, १९ मंसिर – यमनका पूर्व राष्ट्रपति अली अब्दुल्लाह सालेह मारिए छन् । सालेहका समर्थक र हुथी विद्रोहीबीचको संघर्षका क्रममा उनी मारिएका हुन् ।

सालेहको जनरल पिपुल्स कंग्रेस पार्टीले राजधानी सनाको दक्षिणी क्षेत्रमा गरिएको आक्रमणमा उनी मारिएका जनाएको छ । तर हुथी विद्रोही नेता अब्दुल मलिक अल हुथीले भने देशद्रोहीले निम्त्याएको संकटको अन्त्य भएको भन्दै सालेहको मृत्युलाई ठूलो र महत्वपूर्ण उत्सव भनी खुशी व्यक्त गरेका छन् ।

आफुहरुले साउदी नेतृत्वको गठबन्धनको षड्यन्त्रलाई परास्त गरेको उनको भनाई छ । गत हप्तासम्म पनि सालेहका समर्थकले हुथी विद्रोहीसँग मिलेर वर्तमान राष्ट्रपति अब्द्रुर मनशुर हादीविरुद्ध संघर्ष गरिरहेका थिए ।

७७ वर्षिय सालेहले ३२ वर्षसम्म यमनमा शासन गरेका थिए । सन् २०११ को आन्दोलनका कारण उनी तात्कालीन उपराष्ट्रपति हादीलाई सत्ता छाड्न बाध्य भएका थिए । यसैबीच संयुक्त राष्ट्रसंघका अनुसार सनामा हवाई आक्रमण तीब्र पारिएको छ ।

Top