होन्डुरसमा राष्ट्रपतीय निर्वाचनको मतगणनामा विवादः पुनः गणना थालियो

एजेन्सी, १८ मंसिर । होन्डुरसमा भएको राष्ट्रपतीय निर्वाचनको मतगणनामा विवाद उत्पन्न भएपछि पुनस् गणना थालिएको छ ।

विपक्षी गठनबन्धनको आग्रहपछि पुनस् गणना गरिएको हो । यद्यपी आफ्नो आग्रह विपरित करिब ६ प्रतिशत मत मात्रै पुनः गणना गर्न लागिएको भन्दै विपक्षी दलले गणना बहिष्कार गरेका छन् ।

विभिन्न मतदान केन्द्रका मतगणनामा समेत धाँधली भएको विपक्षीको आरोप छ । मतगणनाको बिरोध गर्दै भएको प्रदर्शनका क्रममा हिंसा भड्किदा ३ जनाको मृत्यु भयो भने सयबढी पक्राउ परेका छन् ।

थप हिंसा हुन नदिन भन्दै त्यहाँको सरकारले रातीको समयमा कर्फ्यु लगाएको छ । यसअघि हिजो पनि विपक्षी उम्मेदवार साल्भाडोर नसरल्लाको समर्थनमा विभिन्न शहरमा र्याली निकालिएको समाचारमा उल्लेख गरेको छ ।

होन्डुरसमा ९५ प्रतिशत मतगणना सम्पन्न हुँदा निवर्तमान राष्ट्रपति जुआन ओर्लान्डो हर्नान्डेजले ४२ दशमलव ९ र विपक्षी उम्मेदवार नसरल्लाले ४१ दशमलव ४ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।

Photo: bbc.com

Top