ट्रम्पले गरे एफबिआईको कडा आलोचना

एजेन्सी, १८ मंसिर – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संघीय जाँच आयोग (एफबिआई) को कडा आलोचना गरेक छन् । आइतबार ट्वीट गर्दै ट्रम्पले एफबिआइको प्रतिष्ठा निकै खस्किएको आरोप लगाएका हुन् ।

विशेष वकिल रोबर्ट मुलरको नेतृत्वमा भइरहेको अनुसन्धानको क्रममा ट्रम्पका शीर्ष सुरक्षा सल्लाहकार रहेका माइकल फ्लिनले आफूले एफबिआईलाई रुसी राजदूतसँगको कुराकानीका बारेमा सत्य नबताएको स्वीकार गरेपछि ट्रम्प फ्लिनको पक्षमा र एफबिआईको खुलेर विरोध गरेका छन् ।

यसअघि ट्रम्पले फ्लिनको कार्य जायज रहेको बताउँदै फ्लिनले एफबिआईलाई झुठ बोलेको बारेमा आफूलाई पनि जानकारी रहेको संकेत गरेका थिए ।  ट्रम्पले एफबिआईका तत्कालीन निर्देशक जेम्स कुमीलाई फ्लिनमाथिको अनुसन्धान रोक्न आग्रह गरेको आरोप अस्वीकार गरेका छन् ।

विशेष वकिल मुलरको नेतृत्वमा सन् २०१६ को राष्ट्रपतिय चुनावमा रुसी हस्तक्षेपका बारेमा अनुसन्धान भइरहेको छ । तर ट्रम्पले भने आफ्नो जितका लागि रुससँग साँठगाँठ गरेको कुरा अस्वीकार गर्दै आएका छन् ।

Top