इटालियन सिरी ए फुटबल: पेरिसकको ह्याट्रिक मद्दतमा इन्टर मिलान शीर्ष स्थानमा

एजेन्सी, १८ मंसिर । इन्टर मिलान फेरि इटालियन सिरी ए फुटबलको शीर्ष स्थानमा फर्किएको छ ।

लिगमा अपराजित रहेको इन्टर मिलानले खेलमा केएभोमाथि ५–० को शानदार जित दर्ता गर्दै महत्वपूर्ण तीन अंक जोड्दै फेरि शीर्ष स्थानमा उक्लिएको हो । इन्टर मिलानको जितमा इभान पेरिसकले ह्याट्रिक गरे भने माउरो आइकार्डी र स्क्रिनिएरले एक एक गोल गरे ।

२३ औं मिनेटमा पेरिसकको गोलबाट इन्टर मिलानले सुरुवाति अग्रता लियो । ३८ औं मिनेटमा आइकार्डीले गोल गरेपछि इन्टर मिलानले पहिलो हाफमा २–० को अग्रता लियो ।

५७ औं मिनेटमा पेरिसिकले व्यक्तिगत दोस्रो तथा ६० औं मिनेटमा स्क्रिनिएरले गोल गर्दै मिलानको अग्रता ४–० मा र्पुयाए । इन्जुरी समयमा गोल गर्दै पेरिसिकले ह्याट्रिक पूरा गरे भने मिलान ५–० ले विजयी भयो ।

जितपछि शीर्ष स्थानमा फर्किएको इन्टर मिलानको १५ खेलबाट ३९ अंक भएको छ । नापोलीको ३८ तथा युभेन्टसको ३७ अंक रहेको छ ।

Top