विश्वकप ‘ड्र’ सार्वजनिकः ठूला टोलीलाई सहज

एजेन्सी, १६ मंसिर – आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलको ड्र सार्वजनिक भएको छ । शुक्रबार रुसको राजधानीमा रहेको क्रेमलिन प्यालेसमा एक भब्य समारोहकाबीच ड्र सार्वजनिक भएको हो ।

आयोजक रुसले अर्को वर्ष हुने फिफा विश्वकपमा समूह चरणमा सजिलो प्रतिद्वन्द्वी पाएको छ । रुसको समूह ‘ए’ मा दुईपल्टको विजेता उरुग्वेसहित इजिप्ट र साउदी अरेबिया परेका छन् । समूह ‘बी’ मा पूर्वविजेता स्पेनसँगै पोर्चुगल, इरान र मोरक्को छन् । जुन १५ मा हुने समूहको पहिलो खेलमा पोर्चुगल र स्पेन आमने–सामने हुनेछन् ।

समूह ‘सी’ मा सन् १९९८ विजेता फ्रान्स, पेरु, डेनमार्क र अस्ट्रेलिया परेका छन् । समूहमा रहेका युरोपका दुई टोली फ्रान्स र डेनमार्कले जुन २६ मा हुने समूहको अन्तिम खेलमा प्रतिस्पर्धा गर्नेछन् । दुईपल्टको विजेता अर्जेन्टिना रहेको समूह ‘डी’ मा क्रोएसिया, नाइजेरिया र पहिलो पटक विश्वकप खेलिरहेको आइसल्यान्ड छन् ।

अर्जेन्टिनाले पहिलो खेलमा डेब्यू गरिरहेको आइसल्यान्ड, दोस्रोमा क्रोएसिया र अन्तिम खेलमा नाइजेरियासँग प्रतिस्पर्धा गर्नेछ । सर्वाधिक पाँचपल्ट विश्वकप जितेको ब्राजिलले समूह ‘ई’ मा स्विट्जरल्यान्ड, कोस्टारिका र सर्बियाको सामना गर्नेछ । समूह ‘एफ’ मा डिफेन्डिङ च्याम्पियन जर्मनीसँगै मेक्सिको, स्विडेन र दक्षिण कोरियाले प्रतिस्पर्धा गर्नेछन् ।

जर्मनीले समूहको पहिलो खेलमा मेक्सिको (जुन १७), दोस्रोमा स्विडेन (जुन २३) र अन्तिम खेलमा दक्षिण कोरिया (जुन २७) को सामना गर्नेछ । सन् १९६६ को विश्वकप जितेको इंग्ल्यान्डको समूह ‘जी’ मा बेल्जियम, ट्युनिसिया र नवप्रवेशी पानामा छन् । इंग्ल्यान्ड र बेल्जियमले समूहको अन्तिम खेलमा जुन २८ गते प्रतिस्पर्धा गर्नेछन् । समूह ‘एच’ मा पोल्यान्ड, कोलम्बिया, सेनेगल र जापान रहेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रुसले साउदी अरेबियाको सामना गर्नेछ । उक्त खेल राजधानी मस्कोस्थित लुझिंकी रंगशालामा जुन १४ तारिखमा हुनेछ । एक महिना चल्ने प्रतियोगिताको फाइनल खेल त्यसै रंगशालामा जुलाई १५ मा खेलिने छ ।

Top