नेपाल क्रिकेट संघको सदस्यता खारेज हुने खतरा बढ्दै, के हाेला अब ?

काठमाण्डाैं, १६ मंसिर । विश्व क्रिकेट संघको सर्वोच्च निकायबाट नेपाल क्रिकेट संघ (क्यान) को सदस्यता खारेज हुने खतरा बढेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् –आईसीसीले यसअघि नै निलम्बित क्यानको विवादलाई निकास दिन समयसीमा तोकेपछि नेपाली क्रिकेट यो स्थितिमा पुगेको हो ।

आईसीसीले पछिल्लो पटक लेखेको पत्रमा क्यान पुनर्बहालीलाई डिसेम्बर २२ सम्म सन्तोषजनक कारणहरू बुझाउन समयसीमा तोकेको छ । आईसीसीका प्रमुख कार्यकारी अधिकृत डेविड रिचर्डसनले निर्वाचित क्यानका महासचिव अशोकनाथ प्याकुरोललाई पत्र लेख्दै उक्त चेतावनी दिएका हुन् ।

भदौ ६ मा भएको विशेष साधरणसभामा क्यानले संशोधनसहित विधान पारित गरेको थियो । आईसीसीले आफूहरूबीच भएको सहमतिविपरीत सल्लाहकार समितिले प्रस्ताव गरेको विधान संशोधन गरिएको भन्दै क्यानको आसन्न केन्द्रीय निर्वाचनमा सहभागिता जनाउनु अनुचित भएको स्पष्ट पारिसकेको थियो ।

फेब्रुअरीमा हुने आईसीसीको अर्को बोर्ड बैठकसम्म पुनर्वहालीका सर्तहरूमा क्यानले सन्तोषजनक कदम नचालेको र त्यसमा असफल भएको पाइएमा आईसीसीको अर्को साधारणसभामा क्यानको सदस्यता खारेज गर्ने निष्कर्षसहितको प्रस्ताव अघि सार्ने आइसीसीको पत्रमा उल्लेख छ ।

Top