अमेरिकी राष्ट्रपति ट्रम्पका सल्लाहकार फ्लेनले झुठ बोलेको स्वीकार

एजेन्सी,१६ मंसिर – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सम्बन्धी पूर्व सल्लाहकार माइकल फ्लेनले संघीय जाँच आयोग (एफबिआई) सँग झुठ बोलेको कुरा स्वीकार गरेका छन् ।

फ्लेनले ट्रम्प राष्ट्रपति बन्नु भन्दा केही हप्ता पहिले आफूले रुसी राजदूतसँग भेटघाट गरेको तर यस विषयमा एफबिआईसँग झुठ बोलेको स्वीकार गरेका हुन् ।

सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपका सम्बन्धमा विशेष वकिल रोबर्ट म्युलरको नेतृत्वमा भइरहेको अनुसन्धान अन्तर्गत फ्लेनसँग सोधपुछ भएको हो । रुसी राजदूतसँगको भेटका बारेमा ह्वाइट हाउसलाई जानकारी नै नदिएको आरोप फ्लेनमाथि छ ।

फ्लेनले ट्रम्पले राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नु पूर्व रुसी राजदूतसँग भेटवार्ता गरेका थिए । भेटवार्ताको जानकारी बाहिर आएपछि फ्लेनले राष्ट्रिय सुरक्षा सल्लाहकारको पदबाट राजीनामा दिएका थिए ।

फ्लेन शुक्रबार अदालतमा उपस्थित भएका हुन् र उनले जाँचमा सहयोग गरिरहेको उल्लेख गरिएको छ । फ्लेनले बयानको क्रममा ट्रम्प प्रशासनको एक शीर्ष व्यक्तिको नाम लिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छ ।

Top