रौतहटः प्रहरी र राजपा कार्यकर्ताबीच झडप, ५ घाइते

रौतहट, १५ मंसिर – रौतहटको गरुडा नगरपालिका ५ महमदपुर प्रहरी र राजपाका कार्यकर्ताहरुबीच झडप हुँदा ५ जना घाइते भएका छन् । मधेस आन्दोलनका दृष्यहरु प्रोजेक्टरको माध्यमबाट देखाउँदै राजपाले चुनाव प्रचार गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेर रोक्न खोज्दा झडप भएको हो ।

झडपमा बालकसहित पाँचजना घाइते भएको बताइएको छ । उनीहरुको रौतहटका चपुर, गरुडा र गौरका अस्पतालहरुमा उपचार भइरहेको छ । प्रहरीतर्फ पनि घाइते भएको भनिए पनि संख्या खुलाइएको छैन । महमदपुरमा प्रोजेक्टर नियन्त्रणमा लिन खोजेपछि मधेसवादी दलका कार्यकर्ताले प्रहरीलाई घेरा हालेका थिए । त्यसपछि प्रहरीले हवाई फायर र टियर ग्यास प्रहार गरेको थियो ।

स्थिति तनावग्रस्त भएपछि राति नै महमदपुरमा सशस्त्र प्रहरीको थप फोर्स झिकाइएको थियो । राजपाले मधेस आन्दोलनमा प्रहरी प्रशासनले गरेको दमनको भिडियो दृष्य देखाउँदै चुनाव प्रचार गर्दै आएको छ ।

Top