स्वास्थ्यकर्मी निर्वाचनमा खटाउदा सेवा प्रभावित

विनोद सिंह विष्ट ।

बैतडी, ९ मंसिर । पहिलो चरण अन्तर्गत मंसिर १० गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागी बैतडीका अधिकांस स्वास्थ्यकर्मी निर्वाचनमा खटाउदा स्वास्थ्य सेवा नै प्रभावित भएको छ ।

बैतडी जिल्लामा रहेका स्वास्थ्यसंस्थाका सबै कर्मचारी चुनावमा खटिएपछि बिरामी मर्कामा परेका छन् ।  जिल्लामा रहेका ६८ वटै स्वास्थ्य संस्थाका कर्मचारी चुनावमा खटिएपछि कतिपय स्वास्थ्यसंस्था बन्द भएका जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डाक्टर गुणराज अवस्थीले बताउनुभयो । उहाँका अनुसार निर्वाचनमा खटिने कर्मचारी अपुग हुँदा स्वास्थ्यका कर्मचारी खटाएको हो ।

चिसो मौसम भएकाले अहिले रुघाखोकी, निमोनियाका बिरामी बढी भएकाले सामान्य उपचार गर्नपनि भारतीय बजार झुलाघाट पिथौरागढ तथा बाहिरी जिल्ला जानुपर्ने बाध्यता रहेको नागरिकले बताएका छन् । बैतडीको दोगडाकेदार गाउँपालिका –६, सित्तडमा रहेको स्वास्थ्यचौकी ४ दिनदेखि बन्द रहेको स्थानीय बासिन्दा देवराज जोशीले जनकारी दिनुभयो । स्वास्थ्यकर्मी नभएपछि बिरामी स्वास्थ्यसंस्थाबाट त्यसै फर्कनु परेको छ ।

बैतडीमा रहेको ३७५ स्वास्थ्यका कर्मचारी रहेकोमा २ सय भन्दा बढी निर्वाचन खटाईएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । मुख्य निर्वाचन अधिकृत बिष्णुप्रसाद गौतमले जिल्ला स्वास्थ्य कार्यालयबाट प्राप्त कर्मचारीको विवरण अनुसार नै स्वास्थ्यकर्मी खटाइएको बताउनुभयो ।

Top