परिचयपत्र वितरणसँगै मतदाता शिक्षा आज पनि

काठमाडौं, ९ मंसिर । प्रदेश र प्रतिनिधिसभाको पहिलो चरणको चुनावका लागि निर्वाचन आयोगले मतदाता परिचयपत्र वितरण आजपनि जारी राखेको छ । ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा मंसिर १० गते हुने निर्वाचनका लागि आजपनि मतदाता परिचयपत्र वितरण गरिने निर्वाचन आयोगले जनाएको छ ।

परिचय पत्र वितरण र मतदाता सचेतना अभियानसंगै जारी रहेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । आयोगले हिजोदेखि मतदाता परिचयपत्र वितरण सुरु गरेको हो । पहिलो चरणमा निर्वाचन हुने जिल्लामा ३१ लाख ९२ हजार मतदाता छन् । ३२ जिल्लाबाट ३७ प्रतिनीधिसभा र ७४ प्रदेशसभा सदस्य चुनिदैछन् ।

मौन अवधि
पहिलो चरणमा मंसिर १० गते ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मौन अवधि जारी छ । मौन अवधिमा एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न पाइने छैन ।

मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने पक्षलाई हेक्का राख्न निर्वाचन आयोगले सबै सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ ।

मौन अवधि शुरू भएपछि निर्वाचन सम्पन्न नहुन्जेलसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेदवार भएका व्यक्तिहरू, राजनीतिक दलका पदाधिकारीहरू, स्वतन्त्र उम्मेदवारहरू, नागरिक समाज, आम मतदाता तथा सञ्चार माध्यमले कुनै पनि प्रकारका चुनावी प्रचार प्रसारमा संलग्न हुन नपाइने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

मौन अवधिमा एसएमएस, फेसबुक, ट्विटर, भाइबरजस्ता विद्युतीय माध्यमबाट समेत निर्वाचन प्रचार प्रसार गर्न नपाइने बताउनुभयो ।

Top