निर्वाचन हुने जिल्लामा मध्यराति १२ बजेदेखि यातायात बन्द

काठमाडौं, ९ मंसिर । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको निर्वाचनमा प्रदेश नम्बर १ का सात, प्रदेश नम्बर ३ का ६, प्रदेश नम्बर ४ का ६, प्रदेश ५ का २, प्रदेश ६ का ७ र प्रदेश ७ का ४ वटा जिल्लामा पहिलो चरणमा निर्वाचन हुँदैछ ।

पहिलो चरणका निर्वाचन अन्तर्गतका सबै मतदान केन्द्रमा कर्मचारी पुगिसकेको र कर्मचारीले मतदान केन्द्र बनाउने काम गरिरहेको जानकारी निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले दिनुभएको छ । पहिलो चरणमा ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभाका लागि मङ्सिर १० गते निर्वाचन हुँदैछ ।

मतदानका लागि आवश्यक पर्ने मतपत्र, मतपेटिका, स्वस्तिक छाप, नङमा लगाउने मसीलगायत ६७ प्रकारका निर्वाचन सामग्री सबै मतदान केन्द्रमा पुगिसकेको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमा ३१ लाख ९१ हजार ९४५ मतदाताले मतदान गर्नेछने ।

निर्वाचनमा प्रतिनिधिसभाका लागि २८२ जना र प्रदेशसभाका लागि ४२० जना उम्मेदवार चुनावी प्रतिस्पर्धा गर्दैछन । पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरुमा सरकारले भोली सार्वजनिक विदा दिएको छ ।

निर्वाचन हुने जिल्लामा मध्यराति १२ बजेदेखि बन्द
आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचन अन्तरगत पहिलो चरणमा हुने निर्वाचनकालागि आज मध्यराति १२ बजेदेखि यातायात बन्द हुने भएको छ ।

सरकारले मध्यराति १२ बजेअघि नै आफ्नो गन्तव्यमा पुग्न सबै सवारी चालकलाई आग्रह गरेको छ । सरकारले यसअघिको निर्णय अनुसार भोली मतदान हुने ३२ जिल्लामा गाडी चलाउन नदिने भएकाले आज राति १२ बजेअघि नै गन्तव्यमा पुग्न आग्रह गरेको हो ।

भोली मतदान हुने जिल्लामा सुरक्षा निकायका गाडी, चुनावी प्रयोजनको लागि सवारी पास लिएका र एम्बुलेन्स, दमकल, खानेपानी बोकेको ट्याङकर, दूरसंचार सेवा, शव बहान, अस्पताल सेवा र विद्युत सेवा लगायतका अत्यावश्यक बाहेकका गाडी चलाउन रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ ।

भोली प्रदेश नम्बर १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ, प्रदेश नम्बर ३ का नुवाकोट, रसूवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश नम्बर ४ मा मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लम्जुङ र गोरखा, प्रदेश नम्बर ५ का रुकुम पूर्वी भाग र रोल्पा तथा प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बाजुरा र बैतडी गरि ३२ जिल्लामा मतदान हुँदैछ ।

Top