कपिलवस्तुमा नेपाली कांग्रेस वलियो छः नेता सेन

कपिलवस्तु ।  कपिलवस्तुमा अहिले चुनावी माहोल निकै तातेको छ । राजनीतिक दलहरुले चुनाव प्रचार प्रसारलाई तिव्रता दिएका छन् । विगतमा पाँच वटा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा अहिले ३ वटा मात्रै रहेका छन् ।

जसमा नेपाली कांग्रेसबाट क्षेत्र नम्बर १ मा दीपकुमार उपाध्याय, २ मा सुरेन्द्र आचार्य र ३ मा अभिषेक प्रताप साह प्रतिस्पर्धामा रहेका छन् । गत कार्तिक १६ गते मनोनयनको दिनमा केही असहज देखिएपनि अहिले कपिलवस्तुमा नेपाली कांग्रेस वलियो बन्दै पनि गएको छ । यसका साथै पार्टीमा विद्रोह गरेर कपिलवस्तु क्षेत्र नम्बर १ मा उम्मेदवारी दिएका दुर्गा बहादुर सेनले पार्टीका आधिकारिक उम्मेदवार उपाध्यायलाई सघाउने घोषणा गर्दै अहिले चुनावी प्रचार प्रसारमा खटिएका छन् ।

निर्वाचन प्रचार प्रसारमा खटिएका दुर्गाबहादुर सेनलाई कपिलवस्तुको चुनावी माहोलबारे कुरा गरेका छौँ । सेनसँगको कुराकानीको सम्पादित अंश ।

कपिलवस्तुको चुनावी अवस्था के छ ?
पहिला सिमांकनको समस्या थियो, अहिले कपिलवस्तुका ३ वटा निर्वाचन क्षेत्रलाई उत्तर– दक्षिणमा गरि विभाजन गरिएकाले मतदाता र सवैका हिसाबले नेपाली कांग्रेस मजवुत अवस्थामा छ ।
नेपाली कांग्रेस मजवुत देखिएको आधार के त ?
अहिलेको निर्वाचनमा लोकतान्त्रिक र कम्युनिष्ट गठबन्धनको नाममा २ वटा गठबन्धन बनेका छन् । यसरी दुईवटा गठबन्धन बनेर निर्वाचन लड्दा नेपाली कांग्रेसको गठबन्धन बलियो देखिएको छ । अहिले सम्म नेपाली कांग्रेसले कपिलवस्तुमा अरु कुनैपनि पार्टिसँग गठबन्धन गरेको छैन । तर अन्य पार्टीहरुलाई मिलाउने तयारी अहिले पनि जारी छ । यो निर्वाचनको अघिल्लो दिन सम्म पनि जारी रहन्छ ।
कपिलवस्तु १ मा दीपकुमार उपाध्याय किन ?
यो केन्द्रले चाहेको कुरा हो । केन्द्रको निर्णय अनुसार उहाँले कपिलवस्तु १ बाट प्रतिनिधि सभाको निर्वाचनकालागि उम्मेदवारी दिनुभयो । केन्द्रले गरेको निर्णयको विपक्षमा केही दिन केन्द्रको नेतृत्वलाई झक झक्याउन केही निर्णय लियौँ । तर केन्द्रले सहि निर्णय गरेकाले म पछाडि हटेर पुर्णरुपमा दीपकुमार उपाध्यायलाई सहयोग गरेको छु । म अहिले चुनावी प्रचार प्रसारमा खटिएको पनि छु ।

अब को नेतृत्वले विकासका के काम गर्नुपर्छ ?
अहिले दीपकुमार जी आउनु भएको छ । उहाँले विगतमा पनि गर्नुभएको थियो र आगामी दिनहरुमा पनि उहाँले अझै विकासका कामहरु गर्नुहुने छ भन्ने हाम्रो अपेक्षा पनि छ । त्यसैगरी स्थानीय तहको निर्वाचनमा कपिलवस्तुमा नेपाली कांग्रेसको वर्चश्व जमाउन सुरेन्द्र आचार्यको पनि महत्वपूर्ण भूमिका छ । उहाँ कांग्रेसको पार्टी सभापति पनि हो र अहिले २ नम्बर क्षेत्रबाट चुनाव लड्नु भएको छ । ३ नम्बर क्षेत्रमा अभिषेक प्रताप साह हुनुहुन्छ । उहाँ पनि साह परिवारको राम्रो क्याडर हो ।

प्रस्तुतिः मुक्तिबाबु रेग्मी

Top