एमाले अध्यक्ष केपी ओलीको घरको गेटमै बम विस्फोट

काठमाडौं, ९ मंसिर । नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओलीको झापा स्थित दमकको घरमा बम भेटिएको छ । घरको पूर्व दिशाको गेटमा दुईवटा बम भेटिएको हो । एउटा बम बिहान ४ बजे पड्केपछि बम भएको थाह पाएको ओली निवासमा बस्ने दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले बताउनुभयो ।

पड्किएको बमले क्षति नभएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख दिपक गिरिले जानकारी दिनुभयो । एउटा बम डिस्पोज गर्न सेनाको टोली घटनास्थल पुगिसकेको र डिस्पोज गराउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

राज्यमन्त्री श्रेष्ठको घरमा बम विस्फोट
पशुपंक्षी विकास राज्यमन्त्री शम्भुलाल श्रेष्ठको घरमा बम विष्फोट भएको छ । आज बिहान ५ बजेर १० मिनेटमा मन्त्री श्रेष्ठको सर्लाहीको लालबन्दी नगरपालिका–१७ स्थित रानीगञ्जमा रहेको घरमा बम बिष्फोट भएको हो ।

विष्फोटमा मानवीय क्षति नभएको र ५ फिटजति पर्खाल भत्किएको मन्त्री श्रेष्ठका प्रेस संयोजक कृष्ण प्रसाद थपलियाले जानकारी दिनुभयो । घर पछाडी पट्टी थोत्रा सामान राख्ने ठाउँ नजिक बम विष्फोट गराइएको प्रहरीले जनाएको छ ।

घटना स्थलमा सिलभरका टुक्राहरु भेटिएको र विष्फोटमा संलग्नहरुको खोजी तीव्र पारिएको ईलाका प्रहरी कार्यालय केशरगञ्जका प्रहरी निरीक्षक अनिल पौडेलले बताउनुभयो । बिहानै ठुलो आवाजमा बम विष्फोट हुँदा स्थानीयवासी त्रसित भएका थिए ।

झापामा कांग्रेस उम्मेदवारको घरमा बम विस्फोट
झापाको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका उम्मेदवार तथा नेपाली कांग्रेस झापाका सभापति उद्धव थापाको घरमा गएराति बम विस्फोट भएको छ । अर्जुनधारा नगरपालिका–७ मा रहेको थापाको घरको परिसरमा विस्फोट भएको प्रहरीले जनाएको छ ।

विस्फोटका कारण थापाको चुनाव प्रचारमा प्रयोग गरिएको बा ७ च ६८९५ नम्बरको गाडीमा क्षति पुगेको छ । विस्फोटका कारण मानिसलाई भने केही नभएको प्रहरीले जनाएको छ । अहिले सुरक्षाकर्मी त्यहाँ पुगेका छ भने घटनाको अनुसन्धान भइरहेको प्रहरी बताएको छन् ।

Top