बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने सरकारकाे निर्णय

काठमाण्डाैं, ८ मंसिर । सरकारले बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रीपरिषद बैठकले १२ सय मेघावाट क्षमताको बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरेको हो ।

चीनको गेजुवा कम्पनीलाई निर्माण गर्न दिने अघिल्लो सरकारको निर्णय खारेज गरेर सरकारले यो आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरेको छ ।

बुढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानी र प्रविधिमै निर्माण गर्ने निर्णय गरिएको उपप्रधानमन्त्री एवम् उर्जा मन्त्री कमल थापाले जानकारी दिनु भयो ।

सरकारले आयोजना निर्माणका लागि आवश्यक लगानीको खाका तयार पार्न राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेको नेतृत्वमा अर्थ सचिव, उर्जा सचिव र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सदस्य सचिव रहने गरी समिति नै बनाएको छ ।

मन्त्रीपरिषद बैठकले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको काम ८ वर्ष भित्र पूरा गरिसक्ने लक्ष्य पनि लिएको छ । त्यसैगरी सरकारले बुद्धिबहादुर खड्कालाई सचिवमा बढुवा पनि गरेको छ ।

स्वास्थ्यतर्फ डा. शुशिलनाथ प्याकुरेल र डा. तरुण पौडेललाई १२ औं तहमा बढुवा गरिएको छ । सरकारले हेटौडा अस्पताल, सेती अंचल अस्पताल र रुपन्देहीस्थित भीम अस्पतालको स्तरोन्नति गर्ने निर्णय पनि गरेको छ ।

हेटौंडा अस्पतालमा ३ सय, सेती अंचल अस्पतालमा ३ सय र भीम अस्पतालमा ५० शैया स्तरोन्नति गर्ने निर्णय गरिएको पनि उपप्रधानमन्त्री एवम् उर्जा मन्त्री थापाले जानकारी दिनु भयो ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित हुने गरी सरुवा, वढुवा लगायतका काम नगर्न सरकारलाई पटक पटक सचेत गराउँदै आएको छ ।

Top