भूकम्प प्रभावित जिल्लाका प्रत्येक वडामा इन्जिनियर खटाइने

काठमाण्डाैं, १ मंसिर । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले मंसिर मसान्तभित्र भूकम्प प्रभावित सबै जिल्लाका प्रत्येक वडामा इन्जिनियर परिचालन गर्ने भएको छ ।

प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको अध्यक्षतामा बसेको प्राधिकरणको ९२ औँ बैठकले हालै नियुक्त गरिएका प्राविधिक जनशक्तिलाई मंसिर ७ देखि १५ गतेसम्म अभिमुखीकरण तालीम दिई यो महिनाको अन्तिमसम्म प्रभावित ३१ जिल्लाका प्रत्येक वडामा खटाउने निर्णय गरेको हो ।

मंसिर १७ गतेसम्म प्राविधिकलाई रमाना दिई २५ गतेसम्म कार्यक्षेत्रमा खटाउने प्राधिकरणको तयारी छ । यसैगरी बैठकले पुस मसान्तभित्रै सम्पन्न हुने गरी भूकम्प प्रभावित जिल्लाका स्थानीय तहमा थप ५४ हजार डकर्मीलाई सुरक्षित घर निर्माणसम्बन्धी तालीम सञ्चालन गर्ने भएको छ ।

बैठकले भूकम्प प्रभावित १४ जिल्लामा पहिले तालीम लिन छुटेका स्थानीय तहसहित कम प्रभावित १७ जिल्लाका स्थानीय तहलाई समेटेर सात दिने सीप विकास तालीम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

Top