छुट्टा-छुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु

काठमाडौं, २९ कार्तिक – हेटौँडा-नारायणघाट सडकखण्डमा गएराति सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । हेटौँडाबाट नवलपरासीतर्फ जाँदै गरेको ना ३३ प ४६४८ नम्बरको मोटरसाइकललाई ना ७ ख ४८०७ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकल चालक र पछाडि बस्ने एक महिलासहित दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका–ं७ बस्ने ३० वर्षीय अनिल जिसी र २३ वर्षीया पुनम विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  त्यसैगरी, त्रिभुवन राजपथको सामरीमा ना ६ त १०५१ नम्बरको ट्र्याक्टरले एक पैदलयात्रुलाई आज बिहान ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा हेटौँडा उपनगरपालिका-१५ बस्ने १९ वर्षीय आकाश लोप्चन रहेको जिल्ला प्रहरी कार्यालय, मकवानपुरले जनाएको छ ।

मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु
काठमाडौंको बुढानिलकण्ठमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । गएराती बुढानिलकण्ठबाट चक्रपथ जाँदै गरेको बा ८५ प ५१५३ नम्बरको मोटरसाइकलले हात्तिगौँडामा पैदलयात्रुलाई ठक्कर दिएर भाग्ने क्रममा बा २ ख १८८८ नम्बरको माइक्रोबसमा ठोक्किँदा मोटरसाइकलमा रहेका दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पैदलयात्रुलाई ठक्कर दिएपछि भाग्ने क्रममा मोटरसाइकलले बा ८९ प १३७५ नम्बरको स्कुटरलाई ठक्कर दिएर उछिट्टिँदा माइक्रोमा ठोक्किएकाले कपनका १७ वर्षिया आश्रित श्रेष्ठ र भक्तपुर मध्यपुर ठिमीका १७ वर्षकै प्रयाग श्रेष्ठको उपचारको क्रममा शिक्षण अस्पताल महाराजगंजमा मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका पैदलयात्री हात्तीगौँडाका ४४ वर्षका विश्वजित थापा र बुढानिलकण्ठ बस्ने ईमोस राईको शिक्षण अस्पताल महाराजगंजमा उपचार भैरहेको छ ।

दुर्घटनामा एकको मृत्यु, दुई घाइते
मेची राजमार्गमा पर्ने इलामको रोङ गाउँपालिका-१ कोल्बुङमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।  ना ४ ख ३६९ नम्बरको ट्रक गएराति दुर्घटना हाँदा चालक इलाम नगरपालिका-४ बस्ने ४० वर्षीय भीम नेम्वाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

ट्रकमा रहेका इलाम नगरपालिका-१० गोदकका सिंहराज महत र सुनसरी जिल्ला दुहवीका करन ऋषिदेव घाइते हुनुभएको छ । उहाँहरुको झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Top