सेनाको दाबीः रोहिंग्या संकटमा हामी दोषी छैनौं

एजेन्सी, २८ कार्तिक – म्यानमार सेनाले रोहिंग्या संकटमा आफू दोषी नरहेको भन्दै सबै आरोपहरुको खण्डन गरेको छ । आन्तरिक अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्दै म्यानमार सेनाले रोहिंग्या मुस्लिम समुदायका सर्वसाधारको हत्या, बलात्कार, घर आगजनी तथा लुटपाटमा संलग्न रहेको भन्ने आरोपको खण्डन गरेको हो ।

समुदायलाई नै निमिट्यान्न पार्न खोजिएको भन्ने संयुक्त राष्ट्रसंघको आरोपलाई सेनाको यो प्रतिवेदन बाँझिएको बीबीसीले उल्लेख गरेको छ । सेनाले रोहिंग्याका हजारौं सर्वसाधारणसँग गरिएको सोधपुछलाई आधार मानेर सो प्रतिवेदन तयार पारेको बताएको छ । सोही समुदायका अतिवादी लडाकुले त्रास फैलाएर रोहिंग्यलाई देश छोड्न बाध्य पारेको सेनाको आरोप छ ।

मानवअधिकारवादी संगठन एम्नेष्टि इन्टरनेशनलले भने सेनाको सो प्रतिवेदन आफ्नो कालो कामलाई ढाक्ने प्रयास मात्रै भएको आरोप लगाएको छ ।

Top