सत्तापक्षका उम्मेदवारलाई मात्र सरकारले सुरक्षा दियाेः एमाले अध्यक्ष ओली

भाेजपुर, २८ कार्तिक ।   नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षका उम्मेदवारलाई मात्र सरकारले सुरक्षा दिएको आरोप लगाउनु भएको छ । उहाँले कम्युनिष्ट गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्को आक्रमणको घटना जारी रहेकोप्रति सरकारको उदासिनताले आफूहरुलाई आश्चर्य बनाएको समेत बताउनु भयो ।

आज भोजपुरमा कम्युनिष्ट गठबन्धनका उम्मेदवार शेरधन राईमाथि बम प्रहार भएपछि एक विज्ञप्ति जारी गर्दै उहाँले पार्टीको मागका बाबजुद संवेदनशील निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई आवश्यक सुरक्षा उपलब्ध नगराउने तर सत्ताधारी दलका उम्मेदवार वरिपरि भने अनावश्यक सुरक्षाकर्मीको भीड जम्मा गर्ने, पूर्वदेखि पश्चिमसम्मका बामपक्षीय लोकतान्त्रिक गठबन्धनका उम्मेदवारमाथि एकपछि अर्काे आक्रमणको घटना जारी रहने कुराप्रति सरकारको उदासिनताले हाम्रो पार्टीलाई आश्चर्य चकित बनाएको उल्लेख गुर्न भयो । उहाँले यस्ता घटनाप्रति गम्भीर हुन र शान्तिपूर्ण तथा स्वच्छ निर्वाचनको ग्यारेन्टी गर्न सरकारसँग माग समेत गर्नु भयो ।

Top