सङ्घीय व्यवस्थापिकाको भवन पुसभित्र तयार

काठमाडौं, २८ कार्तिक – नयाँ संविधानअनुसार निर्वाचन हुने सङ्घीय व्यवस्थापिकाका दुवै सदनका बैठक सञ्चालन गर्नका लागि भवन आगामी पुसभित्रै तयार हुने भएको छ ।

व्यवस्थापिका–संसद् सचिवालयले हालको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा नै प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक सञ्चालन गर्ने तयारी सुरु गरेको हो । आगामी मङ्सिर १० र २१ गते दुई चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकैपटक हुँदैछ ।

संविधानको धारा ९३ मा राष्ट्रपतिले प्रतिनिधिसभाका लागि भएको निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था छ । सचिवालयले सोहीअनुसार दुवै सदनका बैठक सञ्चालनको तयारी थालेको सचिवालयका प्रवक्ता डा। भरतराज गौतमले जानकारी दिनुभयो ।

संविधानको भाग ८ मा सङ्घीय व्यवस्थापिका गठनबारे उल्लेख छ । धारा ८३ अनुसार २७५ सदस्यीय प्रतिनिधिसभा र धारा ८६ अनुसार ५९ सदस्यीय राष्ट्रियसभा गठन हुनेछ । आजको गोरखापत्रमा खबर छ ।

Top