शिक्षकले तलब नपाएपछि रौतहटका सामुदायिक विद्यालय बन्द

राैतहट, २८ कार्तिक ।  साउन महिनादेखि तलब नपाएको भन्दै रौतहटका शिक्षकहरुले आज जिल्लाका सबै विद्यालय बन्द गराएका छन् । यमुनामाई गाउँपालिका र राजदेवी नगरपालिकामा संचालित सामुदायिक विद्यालयका शिक्षकहरुले विगत चार महिनादेखि तलब पाएका छैनन् ।

तलब निकासा गर्न गाउँपालिका तथा नगरपालिकालाई आग्रह गर्दा समेत दशैं र तिहारको बेला समेत आफूहरुले तलब नपाएको गुनासो शिक्षकहरुको छ । नयाँ आर्थिक वर्षसँगै स्थानीय तहले नै आफ्नो क्षेत्रमा संचालनमा रहेको विद्यालयको शिक्षकलाई तलब खुवाउनु पर्ने व्यवस्था भएपछि यी दुवै स्थानीय तहका शिक्षकहरुले तलब नपाएका हुन् ।

आफूहरुले काम गरेको तलब निकासा गराइदिन पटकपटक प्रमुख जिल्ला अधिकारीलाई अनुरोध गर्दा पनि कुनै सुनवाई नभएपछि शिक्षकहरुले हिजो जिल्ला प्रशासन कार्यालयमा धर्ना समेत दिएका थिए ।

Top