वडाङमी चाडकाे धनकुटामा यसरी गरियाे विदाइ

विदुर खवास,

धनकुटा, २८ कार्तिक ।  नयाँ बाली भित्राइएको खुसियालीमा सातदिनसम्म मनाइएको वडाङमी चाडलार्इ धनकुटाको खाल्सा क्षेत्रका राइहरुले आजबाट धुमधामका साथ विदाइ गरेका छन् ।

कार्तिक पूर्णिमाबाट सातदिन सातरातसम्म मनाइने वडाङमि चाडलाई धनकुटाको खाल्सा क्षेत्रका खोकु, छिन्ताङ्ग, आँखिसल्ला र चुङवाङ्गका राईहरुले सद्भाव, आत्मीयता र संस्कृति संरक्षणको पर्वका रुपमा मनाउँदै आएका छन् ।

यो चाडमा आफन्त, नातागोता, कुलकुटुम्व एकै ठाउँ भेला भएर ढोल–झ्याम्टा लगायतका परम्परागत बाजागाजाका साथमा गोलो घेरा बनाइ खुसियालीमा मुन्धुम गाँउदै पापानी नाच्ने गरिएको छ ।

विभिन्न उत्सव, विवाह र भोजभतेरमा भव्यताका साथ प्रस्तुत गरिने पापानी नाचे कुलदेवता खुसि हुने उनिहरुको विश्वास छ ।

परापूर्वकालमा राईहरुका पूर्खा बुढाहाङ्ग राजाको पालामा आफ्ना ६ जना छोरीहरुको मनोरञ्जनका लागि ६ दिनसम्म छुट्टी दिएर नाच्न सुरु गरिएको पापानी कालान्तरमा राईहरुको साँस्कृतिक सभ्यतानै बन्दै गएको बुढापाकाहरु बताउँछन् ।

पापानी नाचमा बुढापाका, पौढ र महिलाहरुको उल्लेख्य सहभागिता देखिएपनि यूवापुस्ताको चासो भने घट्दै गएको छ ।

Top