मदन भण्डारीको सपना पूरा हुने दिन आएको माओवादी अध्यक्ष दाहालको भनाइ

कार्तिक २८ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेका तत्कालीन महासचिव मदन भण्डारीको सपना पूरा हुने दिन आएको बताउनु भएको छ ।

चुनावी अभियानका क्रममा मदन भण्डारीको शव भेटिएको गाजीपुरमा रहेको मदनस्मृति उद्यानमा पुगेर आज उहाँले भण्डारीको स्मरण गर्दै भण्डारीले देखेको सपना अब पूरा हुने बताउनु भयो ।

कम्युनिष्ट गठबन्धनको मुख्य उद्देश्य देशको तीव्र आर्थिक विकास र सुशासनमार्फत समृद्धि हासिल गर्ने भएको बताउँदै उहाँले विकास र राष्ट्रको नेतृत्व गर्न आफ्नो उम्मेदवारी चितवनमा भएको स्पष्ट पार्नु भयो ।

व्यापार, व्यवसाय गरेर जनतालाई पैसाको प्रलोभनमा पार्ने, जनतालाई रैती ठान्ने, भोक, रोग र गरिबीमाथि राजनीति गर्दै जनता झुक्याउने विरुद्ध खबरदारी गर्न पनि उहाँले आग्रह गर्नु भयो ।

अबको पाँच वर्षमा चितवन विकास र सभ्यताको दृष्टिले देशकै नमूना जिल्ला बनाइ छाड्ने दृढता व्यक्त गर्दै उहाँले विगतमा नभएको काम आफूले योजनाबद्ध ढंगले गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

Top