बैतडीः नमुना मतदान र अन्तरक्रिया

विनोद सिंह ।
बैतडी, २८ कात्तिक – निर्वाचन कार्यालय बैतडीले जिल्लामा क्रियाशिल सञ्चारकर्मीहरुसँग निर्वाचनमा संचारको भुमिकाका विषयमा अन्तरक्रिया गरेको छ ।

मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, निर्वाचन अधिकारी र प्रमुख अनुगम अधिकृतको सहभागितामा निर्वाचनको अवधीमा संचारमाध्यामले खेल्नुपर्ने भुमिकाका बारेमा छलफल भएको थियो । कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले निर्वाचनलाई सफल पार्नका लागि सञ्चारमाध्यामको भुमिका अहम हुने बताउनुभयो ।

निर्वाचनमा बढीभन्दा बढी नागरिको सहभागि गराउन मिडियाले निष्पक्षरुपमा सत्यतथ्य सुचना तथा समाचार सम्प्रेषण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यस्तै कर्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले निर्वाचनको सम्पन्न गर्नका लागि जिल्लाका सबै निकाय तयारी अवस्थामा रहेको बताउनुभयो ।

सुरक्षा रणनीति तयार पारी कार्यन्वयनमा रहेको र मतदान केन्द्रसम्म जाने कच्ची सडक मर्मतको काम पनि भईरहेको उहाँले बताउनुभयो । कार्यक्रममा बोल्दै प्रमुख अनुगमनकर्ता कृष्णहरि खड्काले पत्रकारहरुले तथस्थरुपमा निर्वाचनका गतिविधी नियालिदिने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सञ्चारमाध्यामले निर्वाचनको वेला अपनाउनुपर्ने सावधानी, पत्रकार आचारसंहिता, निर्वाचनको विज्ञापनका लागि बनेको संसोधित आचारसंहिता लगायत विविध विषयहरुमा छलफल भएको थियो ।

नमुना मतदान
आसन्न निर्वाचनमा मतदानबारे जानकारीका लागी जिल्ला निर्वाचन कार्यालयले नमुना मतदान गरेको छ । सञ्चारकर्मीहरु सहभागि मतदानमा प्रतिनिधी र प्रदेश सभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिक तर्फको नमुना मतपत्रबारे जानकारी गराएर नुमना मतदान गरिएको हो ।

मतदानमा समानुपातिक तर्फ शतप्रतिशत मत सदर भएको छ भने प्रत्यक्षतर्फ १ दशमलव ४ प्रतिशत मत बदर भएको छ । सञ्चारकर्मीले मतदाता शिक्षा पाउनु आवश्यक रहेकाले नमुना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी माधवप्रसाद फुयालले बताउनुभयो । बैतडीमा मंसिर १० गते निर्वाचन हुदैछ ।

Top