ओलीलाई कांग्रेस नेता खाणको सुझाव: विदेशी शक्तिबर्धक औषधी खाएर नबरबराउनुस्

बुटवल, २८ कार्तिक ।  नेपाली कांग्रेस निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाणले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विदेशी शक्तिबर्धक औषधी खाएर नबरबराउन सुझाव दिनुभएको छ ।

पाँच नम्बर प्रदेशस्तरीय मिडिया सेन्टरको आज बुटवलमा उद्घाटन गर्दै उहाँले एमाले अध्यक्ष ओलीको बर्बराहटसँगै नागरिकमा छरेका भ्रम नेपाल र नेपालीका लागि उल्टो पर्न जाने बताउनु भयो ।

उहाँले नेपाली नागरिकले अधिनायकवाद र निरंकुशतालाई सधैँ परास्त गरिरहेको बताउँदै नेपालमा कम्युनिष्ट अधिनायकवादको स्थापना गर्ने ओली–प्रचण्डको सपनालाई मंसिर १० र २१ गते हुने चुनावले चकनाचुर बनाउने दावी गर्नुभयो ।

चुनावपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने र त्यो सरकारले पाँच वर्षभित्र घर बास नभएका नागरिकलाई बासस्थान बनाई दिने उहाँले बताउनु भयो ।

कम्युनिष्ट गठबन्धन बनेपछि लोकतन्त्रमाथि ठूलो संकट आएको बताउँदै लोकतन्त्र जोगाउन र अधिनायकवादलाई परास्त पार्नका लागि एकदिनको खाजा खर्च कटाएर कांग्रेसलाई सहयोग गर्न आग्रह गर्नुभयो ।

Top