एसीसी यू–१९ एशिया कपः नेपालको शानदार जित, घरेलु टोली मलेसिया ८ विकेटले पराजित

काठमाण्डाैं, २८ कार्तिक । एसीसी यू–१९ एशिया कप क्रिकेटको समूह चरणमा नेपालले घरेलु टोली मलेसियामाथि ८ विकेटको शानदार जित हासिल गरेको छ । मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर ५.३ ओभरमा पूर र्गयो ।

ओपनर आशिफ शेख ४ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि आएका कप्तान दिपेन्द्र सिंह ऐरीले लगातार २ छक्का प्रहार गरी आउट भए ।

अर्का ओपनर अनिल साहले २६ र चौथो नम्बरमा आएका भीम सार्कीले अविजित ३ रन प्रहार गरी नेपाललाई ८ विकेटको जित दिलाए । साहले छक्का प्रहार गरी नेपालाई जित दिलाएका हुन् ।

बलिङतर्फ मलेसियाका विजय उन्नीले २ विकेट लिए । यसअघि बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली मलेसियाले १५ दशमलव ३ ओभरमा सबै विकेट गुमाएर ४५ रन बनाएको थियो ।

वर्षाका कारण डकवर्थ लेविस अनुसार २४ ओभरमा झारिएको खेलमा नेपालको कसिलो बलिङ आक्रमण सामू मलेसिया निरिह बन्यो ।

घरेलु टोली मलेसियालाई सस्तैमा समेट्ने क्रममा नेपालका लागि सन्दिप लामिछानेले ५, कप्तान दिपेन्द्र सिंह ऐरी र साहव आलमले २।२ तथा अनिलकुमार साहले १ विकेट लिए । मलेसियाका ओपनर सायद अजिजले २० र जगजित सिंहले १० रन बनाउनुबाहेक अन्य ब्याट्सम्यानले धारिलो बलिङको सामना गर्नै सकेनन् ।

५ दशमलव ४ ओभरमा ३३ रन बनाएको मलेसियाले त्यसपछि १२ रन जोड्दा आफ्ना सबै विकेट गुमायो । यसअघि समूहको पहिलो खेलमा नेपाल बंगलादेशसँग २ विकेटले पराजित भएको थियो ।

समूहको दोस्रो खेलमा भारतबिरुद्ध ऐतिहासिक १९ रनको जित निकालेको नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुग्ने सम्भावना जिवितै राख्न आजको खेल जित्नैपर्ने दवावमा थियो ।

अव नेपाललाई सेमिफाइनलमा पुग्न भारत र बंगलादेशबिचको खेलको परिणाम कुनुपर्ने छ । नेट रन रेटको आधारमा शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

 

Top