इराक-इरान भूकम्पःमृत्यु हुनेको संख्या ४ सय ५२ पुग्यो

एजेन्सी, २८ कार्तिक – इराक र इरानको उत्तरी सीमामा गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ४ सय ५२ पुगेको छ । इराकको कुर्द शहर हलब्जा नजिकै केन्द्रबिन्दु पारी ७ दशमलव ३ म्याग्नीच्युडको भूकम्पका कारण हजारौं घाइते भएका छन् ।

भुकम्पमा परि इरानको पश्चिमी करमानशाह प्रान्तमा धेरै मानविय क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भुकम्पमा परि इरान र इराक दुबै मुलुकका ७ हजार भन्दा बढी घाइते भएका छन् । एक इरानी सहायता एजेन्सीका अनुसार भुकम्पबाट प्रभावित ७० हजारलाई सुरक्षित आश्रय चाहिएको छ ।

भूकम्पपछि गएको पहिरोका कारण केही स्थानमा प्रभावितहरुको उद्धारमा कठिनाई भएको बताईएको छ । सो क्षेत्र आसपासका गाउँहरुमा बिजुली तथा दुरसञ्चार सेवा ठप्प भएका छन् । – सिएनएन

Top